बिर्तामाेड । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतले फिल्मको कथासार बुझाउन खोजेको छ । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गांगा सोनाम र करण परियारको स्वर छ ।
पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको भूमिकामा देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विपिन र केकीको प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । केकी र विपिनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय छ ।
फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरेको छ । आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा प्रदीप भारद्धाजको कथा लेखन, चिन्तन राजभण्डारी छ । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकाशराज जोशी हुन् ।

