काठमाडौं । काठमाडौंमा आयोजित एक विशेष समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको औपचारिक घोषणा गरिएको छ। चलचित्रको शुभारम्भ मदनकृष्ण श्रेष्ठ र उनका सहयात्री कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा मदनकृष्णको जीवनका संघर्ष, सफलता, पारिवारिक यात्रा, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहजस्ता महत्वपूर्ण पक्ष समेटिनेछन्।
चलचित्रमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ भावुक बनेका थिए। उनले आफ्नो जीवनमा आधारित चलचित्र बन्न लागेकामा खुशी व्यक्त गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्न पाउने विश्वास व्यक्त गरे।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। यम थापाले कथा तथा पटकथा लेखेको यो चलचित्रको छायांकन भदौ दोस्रो सातादेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ।

