Home Main Highlight News डा. चन्द्र गिरीको उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण
 

डा. चन्द्र गिरीको उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । अवैध मार्ग (डङ्की रूट) प्रयोग गरेर अमेरिका हिँड्ने नेपाली युवाहरूको दर्दनाक र सङ्घर्षपूर्ण यात्रामा आधारित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कृतिकार डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक) ले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

कार्यक्रमका वक्ताहरूले उपन्यासले देशको समसामयिक र जल्दोबल्दो समस्यालाई साहित्यमार्फत ऐना देखाएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।

कसले के भने?

  • कृष्ण धरावासी (आख्यानकार): “मेरो उपन्यास तल्लो बाटो (२०७४)डङ्की को विषयवस्तु मिल्दोजुल्दो भए पनि यसको कथाशैली र दृष्टिकोण नितान्त फरक छ। मैले केही भुक्तभोगीहरूसँग कुराकानी गरेर लेखेको थिएँ, तर डा. गिरी आफैँ ती जोखिमपूर्ण ठाउँहरूमा पुगेर अध्ययन गरी लेखेकाले यो कृति बढी प्रामाणिक र पठनीय बनेको छ।”

  • वसन्त बस्नेत (पत्रकार/उपन्यासकार): “आजको दिनमा नेपाली समाजका लागि अमेरिका एउटा भूगोल मात्र नभएर मानसिक अवस्था बनिसकेको छ। डङ्की उपन्यासका लागि उपन्यास नभएर पर्याप्त अध्ययन, अनुसन्धान गरेर लेखिएको गजबको उपन्यास हो ।”

  • बिना थिङ (साहित्यकार): “उपन्यासले नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक धड्कनलाई दुरुस्तै उतारेको छ। कष्टकर बाटोबाट अमेरिका जान बाध्य नागरिकहरूको समस्या समाधानका लागि समयमै कदम निदान निकाल्न आवश्यक छ ।”

  • राजकुमार बानियाँ (समीक्षक): “यो पुस्तक सामाजिक यथार्थमा आधारित समकालीन आप्रवासन आख्यान हो। नेपालीको पीडा र विवशतालाई समेटेको यो कृतिले लेखक डा. चन्द्र गिरीलाई नेपाली साहित्यमा ‘साहित्यिक नागरिकता’ दिलाएको छ।”

कार्यक्रममा कवि उषा शेरचन र प्रल्हाद पोखरेलले पनि कृतिको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए।

के छ उपन्यासमा?

उपन्यासमा इलामका एक नेपाली युवकले अमेरिका पुग्न रोजेको अत्यन्तै जोखिमपूर्ण ‘डङ्की रूट’ र त्यस क्रममा भोगेका भोगाइहरूलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ।

लेखक डा. चन्द्र गिरीका अनुसार यो पुस्तक केवल अवैध सीमा पार गर्ने कथा मात्र नभई मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको दस्तावेज हो । संसारभर भेटिएका नेपाली तथा अन्य देशका आप्रवासीहरूको वास्तविक अनुभवले नै आफूलाई यो उपन्यास लेख्न प्रेरणा मिलेको उनले बताए।

पुस्तक विवरण

  • कृति: डङ्कीः सपनाको कालबाटो

  • विधा: उपन्यास (आप्रवासन आख्यान)

  • लेखक: डा. चन्द्र गिरी

  • प्रकाशक: बुकहिल प्रकाशन

  • मूल्य: ७१७ रुपैयाँ

  • लेखकका अन्य कृतिहरू: मैले नदेखेको सपना (आत्मकथा) र संसारको सेरोफेरो (यात्रा संस्मरण)

(नोट: अमेरिकालाई कर्मथलो बनाएका डा. गिरी पेसाले वैज्ञानिक हुन्।)

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link