काठमाडौँ । निर्देशक चन्द्र पन्तको बहुप्रतिक्षित चलचित्र ‘आबाट आमा २’ प्रदर्शनमा आउनु अगावै अन्तर्राष्ट्रिय बजारमा हिट साबित भइरहेको छ । प्रदर्शन हुनुअघि नै विभिन्न देशहरूमा यसको वितरण अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री भइरहेकाले चलचित्रप्रति दर्शक र वितरकको माग उच्च रहेको प्रस्ट पारेको छ ।
हालै मात्र चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) का लागि प्रदर्शन अधिकार बिक्री भएको छ। आर्या इन्टरटेनमेन्ट प्रा.लि. र आशिष इन्टरटेनमेन्टबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको हो ।
यसअघि नै चलचित्रको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले खरिद गरिसकेका छन्।
चलचित्रको बजार र वितरण:
- मध्यपूर्व क्षेत्र: आशिष इन्टरटेनमेन्ट
- जापान: आर एन्ड बी इन्टरटेनमेन्ट
- अमेरिका तथा क्यानडा: डोको फिल्म्स
- नेपाल (घरेलु वितरण): आरआर फिल्म्स
- डिजिटल अधिकार: ओएसआर डिजिटल
वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको कारुणिक भावनालाई चलचित्रले केन्द्रमा राखेको छ ।
“आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्” चलचित्रमा समावेश यो भावनात्मक संवादले कथावस्तुप्रति दर्शकमाझ थप उत्सुकता जगाएको छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन रहेको यो चलचित्र पूर्ण रूपमा पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित रहेको छ ।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली चलचित्र जगत्का स्थापित तथा लोकप्रिय कलाकारहरूको मुख्य भूमिका रहेको छ । पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का लगायत कलाकारको अभिनय चलचित्रमा रहनेछ ।
पहिलो भागको सफलता
निर्देशक चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको यसको पहिलो भाग ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा माथिको ऐतिहासिक व्यापार गरेको थियो। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवमा यसलाई नेपालकै सर्वाधिक कमाउने चलचित्रको सूचीमा समेत राखेको थियो ।
पहिलो भागको बम्पर सफलता र दोस्रो भागको प्रदर्शन अगावैको उत्साहजनक व्यापारले गर्दा आगामी असोज ३० गते देखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित देखिएको छ ।

