इटहरी । विवाहित महिलाहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ ओपन स्पेस प्रालिले ‘मिसेस पूर्वेली आइकन सिजन-३’ को औपचारिक घोषणा गरेकाे छ ।
यसअघिका दुईवटा संस्करण इटहरीमा मात्र केन्द्रित रहेकोमा, यसपटक आयोजकले प्रतियोगिताको दायरालाई फराकिलो बनाउँदै तेस्राे संस्करणकाे लागि इटहरीका साथै धरानमा पनि अडिसन आयोजना गरिने भएको छ । प्रतियोगितामा २० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन् ।
सौन्दर्य मात्र होइन, उद्यमशीलता र सशक्तीकरण मुख्य लक्ष्य
केवल बाहिरी आवरणको सौन्दर्य प्रतियोगितामा मात्र सीमित नराखी महिला उद्यमशीलता र आत्मनिर्भरताको अभियानका रूपमा यस संस्करणलाई अघि बढाइएको आयोजकले जनाएकाे छ।
हाम्रो प्राथमिकता केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, बरु महिला उद्यमशीलताको प्रवर्द्धन हो । मिसेस पूर्वेली आइकन विवाहित महिलाहरूको क्षमता, आत्मविश्वास र पहिचानलाई उजागर गर्ने अभियान हो । विवाहपछिको जीवन अन्त्य होइन, यो त नयाँ सम्भावनाको सुरुवात हो ।”
— सरोज श्रेष्ठ, इभेन्ट डाइरेक्टर
त्यसैगरी, आयोजक संस्थाकी सीईओ सजिना श्रेष्ठले प्रतियोगिता अवधिभर सहभागीहरूलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरिने बताइन् । फोटोसुट, भिडियोसुट र विभिन्न प्रचारात्मक गतिविधिमार्फत महिलाहरूलाई आफ्नो सपना अझ ठूलो बनाउने अवसर प्रदान गरिने उनको भनाइ छ ।
प्रशिक्षण, पुरस्कार र विगतको सम्झना
-
प्रशिक्षण: सहभागी महिलाहरूको प्रतिभा निखार्न र व्यक्तित्व विकासका लागि कोरियोग्राफर सुभेक्षा कार्कीले विशेष प्रशिक्षण दिनेछिन् ।
-
पुरस्कार: प्रतियोगिताको शीर्ष उपाधि विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कारका साथै अन्य आकर्षक उपहार र विभिन्न अवसरहरू प्राप्त गर्नेछन् ।
अडिसनको मिति र स्थानबारे छिट्टै विस्तृत जानकारी सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।
यसअघि सम्पन्न ‘मिसेस पूर्वेली आइकन’को दोस्रो संस्करण निकै लोकप्रिय बनेको थियो । उक्त सिजनमा इटहरीकी मेघा खड्काले ‘मिसेस पूर्वेली आइकनको ताज पहिरिएकी थिइन् भने अन्य विधाका विजेताहरूमा फस्ट रनरअप र ‘पब्लिक च्वाइस’ कबिना पोखरेल, सेकेन्ड रनरअप र ‘मिसेस पर्सनालिटी’ उर्मिला मगर, थर्ड रनरअप सिता पुरी, अर्गनाइजर च्वाइस अवार्ड इशा चौधरी रहेका छन् ।

