काठमाडौं । ‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । एक्सन जनरामा निर्माण हुने फिल्मको पोस्टरमा अभिनेत्री पूजा शर्मा र कविता नेपाली आमनेसामने देखिएका छन् । दुवैको अनुहारमा रिस र आक्रोश देखाइएको छ भने चोटका निशानले उनीहरूबीचको टकरावलाई संकेत गर्छ ।
पोस्टरमा पूजाको गालामा धारिलो वस्तुले काटेको दाग देखिन्छ भने कविताको निधारमा पनि चोटको निशान छ । कविताले कम्मरमा पेस्तोल भिरेकी छन् । पृष्ठभूमिमा देखाइएको चट्याङले फिल्मको कथा महिला पात्रबीचको दुश्मनी र द्वन्द्वमा केन्द्रित रहेको संकेत गर्छ ।
पूजा र कविता पहिलोपटक एउटै फिल्ममा सँगै देखिन लागेका हुन् । फिल्ममा अभिनेता पुष्प खड्काको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारबारे निर्माण पक्षले जानकारी दिएको छैन ।
दुई श्रृंखलामा निर्माण हुने फिल्मको पटकथा तथा संवाद सुमन गजमेरले लेखेका छन् । रामकृष्ण खरेल र अनुप गदाल निर्माता रहेको फिल्म जुना फिल्म्सको ब्यानरमा बन्नेछ । यसको छायांकन भदौ अन्तिम साताबाट सुरु हुने भएकाे छ । फिल्म सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


