Home Main Highlight News ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा हात्ती विम्ब, सिमान्तकृत समुदायको कथा
   

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा हात्ती विम्ब, सिमान्तकृत समुदायको कथा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट हुँदै अवार्डसमेत जितिसकेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ घरेलु दर्शकमाझ प्रदर्शनको तयारीमा छ । कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको यो चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ ।

निर्देशक अविनाश विक्रम शाहको निर्देशन तथा पटकथामा बनेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन् । चलचित्र यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ नेपाली चलचित्रमा हात्तीलाई कथाको महत्वपूर्ण हिस्सा र विम्बका रूपमा प्रयोग गरिएको पहिलो सिनेमा भएको निर्माणपक्षको दाबी छ । यद्यपि, यो चलचित्र पूर्ण रूपमा हात्तीको कथामा केन्द्रित भने छैन ।

निर्माता अनुप पौडेलका अनुसार चलचित्रमा हात्तीलाई सिमान्तकृत समुदाय र उनीहरूमाथि समाजले निर्माण गरेका सीमा तथा नियन्त्रणको प्रतिनिधि विम्बका रूपमा प्रस्तुत गरिएको छ ।

“हात्ती फिल्ममा एउटा पात्र हो । र, एउटा विम्ब पनि हो । हाम्रो लागि हात्तीले सिमान्तकृत समुदाय र उनीहरूमाथि समाजले बनाएका सीमाहरूलाई पनि प्रतिनिधित्व गर्छ,” पौडेल भन्छन्, “हामी हात्तीलाई पूजा गर्छौं, तर त्यही हात्तीलाई जंगलभित्रै सीमित पनि राख्छौँ ।”

चलचित्रको ट्रेलरमा भने हात्तीलाई देखाइएको छैन । निर्माणपक्षले यसलाई जानाजानी गरिएको बताएको छ । ट्रेलरमार्फत चलचित्रको सम्पूर्ण कथा खुलाउनुभन्दा हात्ती र त्यससँग जोडिएको कथालाई पर्दामै दर्शकले अनुभव गरून् भन्ने उद्देश्य रहेको निर्माता पौडेलको भनाइ छ ।

ट्रेलरले मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूको संसारलाई केन्द्रमा राखेको छ । तर, पिरतीको कथासँग हात्ती कसरी जोडिन्छ र त्यसले चलचित्रको मूल विषयलाई कसरी अर्थ दिन्छ भन्ने कुरा भने दर्शकले फिल्ममै अनुभव गर्नेछन् ।

कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको चलचित्रले घरेलु प्रदर्शनअघि नै चर्चा कमाएको छ । अन्तर्राष्ट्रिय उपलब्धिसँगै चलचित्रले सामाजिक विषयलाई विम्बात्मक ढंगले प्रस्तुत गरेको कारण पनि यसको प्रतीक्षा बढेको निर्माणपक्षको विश्वास छ ।

यसैबीच, चलचित्रको निर्माण टिमले भोटेकोसी बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको छ । नेपाल प्रिमियरमा आमन्त्रित दर्शकबाट उठ्ने अनुमानित सात लाख रुपैयाँ र निर्माताहरूको तर्फबाट दुई लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताइएको छ । चलचित्रका अन्तर्राष्ट्रिय सह–निर्माताहरूले पनि बाढीपीडितका लागि सहयोग जुटाउने निर्देशक शाहले जानकारी दिएका छन् ।

चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण भएको हो । नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन् ।

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले हात्तीको कथामार्फत प्रकृति, समाज, महिला र सिमान्तकृत समुदायमाथि निर्माण हुने सीमा तथा नियन्त्रणको प्रश्न उठाउने निर्माणपक्षको भनाइ छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link