बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा बिहीबार बिर्तामोडमा ‘सिनेमाको कुरा’ कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा हाल प्रदर्शनरत चलचित्र ‘पेन्सन पट्टा’का लेखक तथा निर्देशक माओत्से गुरुङले अनुभव साझा गरेका छन् ।
लामो समयदेखि चलचित्र क्षेत्रमा रहनु भएका उनले चलचित्रले दृष्टिकोण दिन जरुरी रहेको बताए । ‘चलचित्रको कथालाई मनोरञ्जनसँगै निर्देशकले विभिन्न दृष्टिकोण राखेर निर्माण गर्नुपर्छ भन्ने लाग्छ’, उनले भने, ‘त्यसैले कतै कुप्रथा विरुद्धको कथा, कतै व्यवस्था परिवर्तनका कथा, कतै कला संस्कृतिलाई जोगाउने मौलिक कथाहरु आउँछन् ।’ आफूले चलचित्र निर्माण गर्दा जीवनका भोगाइहरुलाई प्राथमिकता दिने गरेको उनले बताए ।
‘पेन्सन पट्टा’मा आफूले लाहुरेको परिवारको संवेदनाहरुलाई कतै हाँसो, कतै करुणाको कथा जोडेर दर्शकमा पस्किएको बताउँदै उनले दर्शकले देखाउनुभएको मायाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्याल, रोदी टिभीका सञ्चालक भोजबहादुर गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष एकराज प्रधानले अतिथिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण संघकी उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा इग्लोबल र क्याम्प ८५८६ को सहकार्य रहेको थियो ।

