काठमाडौं । मदन थापा निर्देशित चलचित्र ‘परिवार’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता कामेश्वर चौरासिया (महिला) र अभिनेत्री लक्ष्मी बर्देवा(पुरुष)को गेटअपमा देखिएका छन् । टिजरमा कामेश्वर र लक्ष्मीबीचको खटपट र परिवारको मञ्जुरी विना विवाह गर्दा देखिएको समस्या देखाइएको छ ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मको सहकार्यमा निर्माण गरिएकाे छ। ‘कहिले श्रीमानकाे वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ चलचित्रकाे नारा रहेकाे छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारको अभिनय रहेकाे छ ।
फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन साथै एनबी महर्जनको एक्सन रहेकाे छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।


