झापा । सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागसम्म आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ, प्रेम पाएपछि जीवन कसरी चलाउने ? अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५’ ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । जहाँ काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्नेछ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनको तयारीमा छ । सिनेमाको पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने अभिनेता राईले बताएका छन् । उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयले पार्ने प्रभाव देखाइनेछ । प्रेमपछि सुरु हुने व्यावहारिक जीवन र त्यसका लागि गर्नुपर्ने सम्झौता नै यसपटक काजीको कथाको महत्वपूर्ण पाटो बनेको उनले बताए । त्यसैले यसपटकको काजीलाई विगतका भागमा देखिएको काजीभन्दा केही फरक रूपमा दर्शकले पाउनेछन् ।
मैयाँ फर्किएपछि काजीमा आएको परिवर्तन
‘कबड्डी’ शृंखलाको सुरुदेखिकै मैयाँसँगको सम्बन्ध महत्वपूर्ण पक्ष हो । पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा काजीको मनमा पुरानो प्रेमले ल्याउने हलचल स्वाभाविक हुने दयाहाङ बताउँछन् । तर यसपटक काजीको प्राथमिकता पहिलेको जस्तो केवल प्रेम प्राप्तिमा सीमित नरहेको उनको भनाइ छ ।
‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ’ अभिनेता राईले भने ।
काजीको जीवनमा प्रेमसँगै राजनीतिका प्रभाव
‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने दयाहाङले बताएका छन् । उनका अनुसार यसपटक राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको छैन । तर समयसँगै आएको राजनीतिक परिवर्तनले पात्रको जीवन र मनोदशामा पार्ने प्रभाव भने देख्न सकिनेछ ।
‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन । दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन् ।’
यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाफका लागि भने कात्तिक ६ गतेसम्म पर्खिनुपर्ने उनको भनाइ छ ।
‘पाँचसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’
काजीको चरित्रसँग लामो समयदेखिको सम्बन्धका कारण आफूलाई उक्त पात्रप्रति छुट्टै अपनत्व महसुस हुने दयाहाङले सुनाए ।
१५ वर्ष अघिदेखि काजीको चरित्रसँग जोडिएर काम गर्दै आउँदा त्यो पात्र पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको उनले बताए ।
‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’
काजीको कथा अझ परसम्म लैजाने दयाहाङको सोच
काजीसँगको आफ्नो लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूलाई अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए । ‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।
निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको उनले बताए ।
निर्देशक गुरुङकै कथा लेखन रहेको सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।


