काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर–२ सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्रहरूको भूमिकालाई थप प्रस्ट्याउने प्रयास गरिएको छ । ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य देखिएका छन् । उनको वरपर नै ट्रेलरको अधिकांश कथा घुमेको छ ।
पृथ्वीलोकमा रहेका आफ्ना भाइहरू दुःखमा परेको थाहा पाएपछि युधिष्ठिरको रूपमा हरिवंश पृथ्वीमा आइपुग्छन् । समस्यामा परेका भाइहरूलाई कसरी त्यसबाट मुक्त गराउने भन्ने उनको मुख्य उद्देश्य देखिन्छ । उनले भीम, अर्जुन र सहदेवको नामकरण गर्दै चार भाइ बनाउँछन् र समस्यामा परेकाहरूलाई सहयोग गर्दै हिँड्छन् ।
ट्रेलरमा हरिवंश अन्याय, हिंसा र सामाजिक विकृतिविरुद्ध उभिएको देखिन्छ । समस्यामा परेकाहरूको उद्धारकका रूपमा प्रस्तुत भएका उनले समाजमा सभ्यता र नैतिकता कायम हुनुपर्ने सन्देश दिन खोजेका छन् । क्यासिनोमा छोटा कपडा लगाएकी युवतीलाई देखेर उनको शरीर ढाकिदिने दृश्यले पनि यही पक्षलाई संकेत गर्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष र विद्रोहलाई ट्रेलरमा प्राथमिकता दिइएको छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलले चलचित्र सामाजिक ड्रामा विधामा आधारित रहेको बताएका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै चलचित्रले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन छ । द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन् भने गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । आरआर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले चलचित्रको देशव्यापी वितरण गर्नेछन् ।



