बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोडस्थित धर्मकाटा रोड उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले बताए ।
नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले महोत्सवमा ७ दिन फरक फरक चलचित्रको प्रदर्शनी गरिने बताएका छन् । कोशी प्रदेशमा छायाँकन भएका तथा विभिन्न संस्कार झल्काउनु चलचित्रको प्रदर्शनी गरिने उनले बताए । साथै, सोही अवसरमा तीन दिने अभिनय कार्यशाला समेत गरिने र कार्यशालामा प्रशिक्षकका रुपमा निर्देशक सुदर्शन थापा, कलाकार मनिष राउत रहने उनले जानकारुी दिए ।
महोत्सवमा विभिन्न मनोरञ्जनका खेल, कार्यक्रम रहने आयोजकले जनाएको छ । मंसिर १ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सिक्किम सरकारबाट समेत एक जना मन्त्री उपस्थिति हुने बताइएको छ ।