Home Main Highlight News ऊनको स्वीटर : जातमा जेलिएको निश्चल प्रेमकथा

ऊनको स्वीटर : जातमा जेलिएको निश्चल प्रेमकथा

एकराज प्रधान

by Parda Sansar
A+A-
Reset
  • एकराज प्रधान

शुक्रबारबाट हलहरुमा ‘ऊनको स्वीटर’ रिलिज भएको छ । हलहरु लगभग हाउसफुल छन् । चलचित्रले सोहरु प्रशस्तै पाएको छ । नेपाली सिनेमाको यस किसिमको प्रगतिमा हामी सबैले गौरव गर्नुपर्छ । गौरव मात्र होइन, राम्रो फिल्मलाई साथ-सहयोग पनि जरुरी छ । पूर्णबहादुरको सारङ्गीपछि मन छुने कथा, गीत, अभिनय, छायाँकन, ब्याकग्राउन्ड म्युजिक जस्ता हरेक कुरामा मन जित्न सक्ने फिल्मको रुपमा आएको छ – ऊनको स्वीटर ।
अब यो गर्मीमा के गर्नु ऊनको स्वीटर भन्नुहोला । यो नामले दुई अर्थ राखेको छ – एउटा उनबाट बनेको स्वीटर, अर्को उनीले एकदमै मायाले बुनिदिएको स्वीटर । स्वीटर बुन्ने चलन विस्तारै हराउँदै गइरहेको छ । सडक, सहर-बजारले रेडिमेड स्वीटर ल्याउन थालेका छन् । तर, हातैले बुनेको स्वीटर, त्यसका हरेक घरहरुसँगै बुनिएको माया कति प्यारो रहेछ, कति महत्वपूर्ण रहेछ भन्ने कुरा यो फिल्म हेरेपछि थाहा हुन्छ । जुन कुराले तपाईंलाई सिनेमा हलभित्र अत्यन्तै शितल महसुस गराउनेछ ।

ऊनको स्वीटर ‘धरणीधर काफ्ले’ र ‘फूलमाया गुरुङ’को निश्चल प्रेम कथा हो । जसमा विपीन कार्कीलाई धरणीधर र मिरुना मगरलाई फूलको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा लेकमा फल्ने आलु र बेँसीमा हुने धान-मकैको आपसी महत्व दर्शाइएको छ । एक-अर्काको परिपूरकका रुपमा । लेकमा बसेर भेँडा चराउने फूल अनि बेँसीमा बस्ने काठ मिस्त्रीको छोरो धरणीबीच कसरी यति मिठो माया बस्छ ? काफ्ले र गुरुङबीचको यो सम्बन्ध सफल हुन्छ कि हुँदैन ? मायाको लागि यी जोडीले के-कस्ता त्याग अनि संघर्ष गर्छन् ? यस्ता प्रश्नहरुको जवाफ खोज्न तपाईंले पनि यो फिल्म हेर्नै पर्ने हुन्छ । विश्वास गर्नुहोस्, यो फिल्मले कतै बोर गराउँदैन । धरणीधरको सोझोपन, उसले गर्ने सानो सानो व्यवहारले एकदमै धेरै हँसाउँछ । उसको खुसीमा रमाइन्छ, अनि दु:खमा भावुक पनि भइन्छ ।

यता फूलको एक्टिङ उस्तै सुन्दर छ । नाम जस्तै । हाँस्दाहाँस्दै रोइदिने अनि रुँदारुँदै हाँसिदिने । धरणीलाई जिस्काउने मिरुना मगरको त्यो अदा, उनले गर्ने निश्चल प्रेमले भुतुक्कै बनाउँछ । पहाडकी छोरी हुन उनलाई सुहाएको छ । फिल्म हेरिरहँदा लाग्छ, हामी पहाडमै छौँ । कुनै कुनामा बसेर यी जोडीलाई हेरिरहेका छौँ । विपिन र मिरुनालाई होइन, धरणी र फूललाई । अभिनयको तारिफ जति गरे पनि पुग्दैन । विशेष गरी ‘फूल’ पात्रमा मिरुना मगरको ।

अर्को प्लटमा ‘इक्सा’ र ‘डमरु’को प्रेम कहानी छ । छोटो छ तर महत्वपूर्ण । परीक्षा लिम्बू इक्सा बनेकी छन्, अनि एलेक्स पारस बनेका छन् डमरु । इक्सा थोरै चञ्चले अनि हँसाउने क्यारेक्टरमा छिन्, डमरुले हिरो बन्ने सपना बोकेको छ । लिम्बू गाउँमा बसेको काफ्लेले लिम्बूकी छोरी ताकेपछि के हालत होला ? तपाईं आफैँ अनुमान लाउन सक्नुहुन्छ । त्यसमा पनि प्रेम सुब्बाले इक्साको बुबाको भूमिका गरेका छन् ।

फिल्मको कथा पूरै सिरियस छ । तर कथा भन्ने तरिका एकदमै रमाइलो । यसका लागि लेखक तथा निर्देशक नविन चौहानलाई धन्यवाद भन्नै पर्छ । लेखन सहयोगी सुरज कटुवाल पनि । हँसाइहँसाइ गम्भीर कुरा बताउन सक्ने क्षमता अत्ति नै राम्रो छ, मनर्पयो । कथाभित्रै समाज अँटाउने कला अझ राम्रो । गुरुङ संस्कार, काफ्लेहरुको संस्कार अनि लिम्बूको छोरी कसरी माग्ने भन्ने पूरै सिकाइएको छ । बातैपिच्छे ‘हौ’ भन्ने पूर्वेली टोन, आदङ्बे, सेवारो, कन्नाफेरे जस्ता भाषाहरुले फिल्मलाई मौलिक बनाएको छ । परिवेशले मान्छेको स्वभाव बन्छ भन्ने कुरा फिल्ममा देखिन्छ ।

यो फिल्मको सुटिङ निक्कै लामो चलेको थियो । झन्डै चार महिनाभन्दा बढी । फिल्म हेरेपछि थाहा भयो, कति गाह्रो भयो होला त्यो ठाउँमा सुटिङ गर्नलाई । एक त भौगोलिक विकटता, अर्को जतिबेलै हुस्सु अनि कठ्याङ्ग्रिँदो जाडो । नवमी डाँडा, इलाम-पाँचथरका लोभलाग्दा दृश्यहरुले सहरबजारको धुँवाधुलोलाई भने चटक्कै बिर्साइदिन्छ ।

जीवनमा कतिपय ठाउँमा हामी चाहेर पनि पुग्न सक्दैनौँ । चलचित्रले हामीलाई त्यहाँ र्पुयाइदिन्छ । हिमालको त्यो कञ्चन दृश्य, पहाडको त्यो स्वच्छ वातावरण देख्दै आनन्द लाग्छ । त्यहाँको सौन्दर्य र जीवनशैलीले मन लोभ्याउँछ ।

अर्को कुरा, फिल्ममा डिटेलिङको कुरामा पनि अत्यन्तै मेहनत गरेको देखिएको छ । कूल पूजा, ठेकी बनाएको, पुरानो रेडियोदेखि राजाको फोटो भएको पैसा, मेलापात जस्ता धेरै कुरा दृश्यमा देखिन्छ । जसले एउटा समय र समाजको कथा आफैँ बोलेको छ । अटो भर्नेहरुको कहानीमा छुट्टै मजा छ । भित्तामा पत्रिका टाँस्ने र त्यसमाथि पनि फिलिमका पोस्टर टाँसेको दृश्य देख्दा यसले पचास-साठीको दशकमा हामीलाई र्पुयाइदिन्छ । जुन बेला दर्पण छायाँको गीत र दिलिप रायमाझीको स्टाइल लोकप्रिय थियो ।

उमेरको ट्रान्सफरमेसनमा पनि निक्कै गज्जबको काम भएको छ । ५० वर्ष हाराहारीको धरणीधरलाई २०-२५ वर्षे जवान देखाउन गरिएको मेहनतले काम गरेको छ । सुहाएको छ । पहिरनमा उस्तै मौलिकता देखिन्छ । साँस्कृतिक पहिरन त छँदैछ, दैनिक जीवनमा लगाइने गमबुट, लुङ्गी, गलबन्दी, साधारण पहिरनहरुलाई एकदमै ख्याल गरिएको छ ।

फिल्ममा विल्सन विक्रम राईलाई शेरहाङ, भावना मगरलाई माया, माओत्से गुरुङलाई मितबा, सुनिल पोखरेललाई धरणीधरको बाको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा अरु पनि धेरै कलाकारहरु छन्, सबैको काम परिवेश अनुसार सुहाएको छ ।

यो फिल्मको अर्को एकदमै शक्तिशाली पक्ष भनेको गीत-संगीत रहेको छ । ब्याकग्राउन्डमा बज्दा पनि आनन्द लागिरहने । प्राय: फिल्ममा गीत आउँदा दिक्क मानेर दर्शकहरु बाहिर निस्कने छटपटाउने गर्छन् । तर, यो फिल्मको गीत आउँदा अर्कै माहोल थियो । दर्शक आफैँ थप्पडी बजाउँदै, हुटिङ लगाउँदै गीत गाउँदै रमाइरहेका थिए । खासगरी मखमली र काफ्ले गीतमा ।

‘फूलहरु मुस्काउँछन्’ गीतको प्लेसिङ यति राम्रो ठाउँमा छ कि यो गीतको महत्व त्यो हेरेपछि मात्रै बुझिन्छ । विशेष गरी सुजन चापागाईंको आवाजमा साँच्चै जादु छ । झुमा लिम्बू, सुनिता थेगिम, सलिना बिकेको साथले अझै रमाइलो बनाएको छ गीतहरुलाई । गीत मात्रै होइन, ब्याकग्राउन्ड साउन्ड पनि उस्तै राम्रो छ । पहाडमा किरा कराएको आवाजदेखि हरेक एम्बियन्स साउन्ड सुन्दा रमाइलो लाग्छ ।

फिल्मको सम्वाद अझै मिठो छ । हरेक सवाल-जवाफले अधिकांश ठाउँमा हँसाउँछ । राति हिँड्दा डराएको सिन क्रिएसनले छुट्टै रमाइलो गराउँछ । केही सटहरु यति प्रिय छन् कि मनमा बस्छन् । देउराली डाँडामा बसेर चिठ्ठी पढेको, अटोमा भरेका शब्दहरु, धरणी र फूल छुट्दै गरेको दृश्यलाई राम्रोसँग कैद गरिएको छ । रातिको सिनहरुलाई पनि निक्कै क्रिएटिभ तरिकाले खिचिएको छ । त्यसैले यो फिल्मलाई पूरै पाँचमा पाँच स्टार ।
फिल्मले जब-जब जातपात छूवाछुत, सामाजिक बेथिति र पारिवारिक दु:खहरुलाई देखाउँछ, एकदमै नरमाइलो पनि लाग्छ । लास्टमा काफ्ले साँच्चै भावुक बनाउँछ । कमजोर पक्षको कुरा गर्दा कतैकतै स्टोरी जम्प भएको हो कि भन्ने लाग्छ । सिनेमाटोग्राफीमा कता कता फ्रेमिङ हल्लिएको प्रस्ट थाहा हुन्छ । अरु त्यस्ताे कमजाेरी खासै भेटिँदैन ।

विशेष गरी ५०-६० को दशकलाई सम्झन चाहनेहरुले यो फिल्मलाई मज्जाले इन्जोय गर्न सक्नेछन् । त्यो जमानालाई भोग्नेहरुका लागि फिल्म विशेष छ । निश्चल प्रेम सम्बन्ध, पारिवारिक अनि सामाजिक जिम्मेवारीको कथा पनि इन्ट्रेस्टिङ छ । परिवारका साथमा यो फिल्म हेर्न सकिन्छ । कतै त्यस्तो अप्ठ्यारो लाग्ने सिन देखिँदनै । आर्टमाण्डु लगायत निर्माण टिमलाई भव्य सफलताको शुभकामना ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link