Home Main Highlight News ‘जनै हराएको मान्छे’को देशभर एकसाथ दुई पोस्टर सार्वजनिक

‘जनै हराएको मान्छे’को देशभर एकसाथ दुई पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपाली चलचित्र ‘जनै हराएको मान्छे’को आइतबार देशव्यापी रुपमा एकसाथ दुई पोस्टर सार्वजनिक गरिएको छ । जसअन्तर्गत बिर्तामोडको क्युएफएक्स सिनेमामा एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टर सार्वजनिक कार्यक्रममा नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेल, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङ, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापा, युवा व्यवसायी शैलेन्द्र कुरुम्वाङ लगायतको सहभागिता रहेको थियो ।

चलचित्रमा रहेका कलाकारहरुले यसअघि पाएको सफलताको चर्चा गर्दै क्युएफएक्स बिर्तामोडका सञ्चालक समेत रहनुभएका मिजास पोखरेलले भने, ‘यो चलचित्रले पनि दर्शकको अपार माया पाउँछ जित्छ भन्ने लागेको छ । सबैले आफ्नो छेउको सिनेमा हलमा गएर यो चलचित्रलाई सपोर्ट गर्नुहोला ।’ चलचित्रकर्मी संघका अध्यक्ष तामाङले चलचित्र निर्माण टिमलाई सफलताको शुभकामना दिएका छन् । कार्यक्रमको संयोजन तथा सञ्चालन चलचित्र पत्रकार संघ नेपालका झापा सदस्य सुनिता तामाङले गरेकी थिइन् ।

यही भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको एउटा पोस्टरमा जुनेली साँझमा मिरुना मगर र विजय बराल प्रेमिल भावमा रिक्सामा देखिएका छन् । दुवैको अनुहार केही उज्यालो भावमा देखिन्छ । मिरुना आफ्नो सांस्कृतिक पहिरनमा छिन् भने विजय बराल रिक्सा चालकको रुपमा देखिएका छन् । यहाँ एउटा सम्वाद प्रस्तुत गरिएको छ । विजय बराल सोधिरहेका छन्, ‘के तिमीले जुन देखेकी छौ ?’ मिरुनाको उत्तर छ, ‘मैले मेरो आमा देखेको छु ।’ यसले आमाप्रतिको बुझाइ र सम्मानलाई प्रस्ट बनाएको छ ।

त्यस्तै अर्को पोस्टरमा केकी अधिकारीको क्यारेक्टर लुक्सलाई प्रस्तुत गरिएको छ । चोटिल अनुहारमा देखिएकी उनलाई चारैतिरबाट बन्धनमा पारिएको देखिन्छ । दुवै हात बाँधिएकी सारीचोलोमा एक गृहिणीको रुपमा देखिने केकी अधिकारीको एक्सप्रेसनले एउटा नारीले भोगिरहेको पीडा झल्काएको छ । कलर कम्बिनेसनमा एकातिरबाट यल्लो लाइट, उघ्रिएको ढोकाले केही आशा जगाएको छ भने अर्कोतिर ब्लु कलरले अँध्यारो पाटोको कथाको झल्को दिएको छ ।

छेउमा लेखिएको छ ‘जति पीडा भए पनि कहिल्यै ऐया नभन्ने मेरी दिदी’ । जसले नारीको सहनशीलता र दिदीबहिनीप्रतिको अगाध प्रेम झल्काएको छ ।
‘सम्बन्धको धागाहरु’ ट्यागलाइन राखिएको यस चलचित्रले विशेष गरी पारिवारिक सम्बन्धको गहिरो कथा बोल्ने बताइएको छ ।

काठमाडौंमा चलचित्र निर्माण टिमसहित विशेष समारोहका बीच फिल्मको पोस्टर सार्वजनिक गरिएको छ भने पूर्वका प्रमुख सहर इटहरी, धरान, विराटनगर, बिर्तामोड लगायत देशभरका १२ स्थानमा एकै समयमा पोस्टर सार्वजनिक गरिएको छ ।

फरक ढङ्गले प्रचार गर्ने उद्देश्य अनुसार यसरी देशव्यापी रुपमा एकैसाथ पोस्टर रिलिज गरिएको फिल्मका निर्माता विमल न्यौपानेले बताए । ‘जनै हराएको मान्छे नेपालीपन बोकेको फिल्म हो, यसमा हरेक परिवारभित्रको कथा रहेको छ’, फिल्मका एसोसिएट निर्देशक मनिष राउत भन्छन्, ‘हामीले हाम्रा सम्बन्धहरुलाई कसरी बुझेका छौँ भनेर यो फिल्मले सोच्न बाध्य बनाउनेछ अनि भावनात्मक तरिकाले परिवारसँग जोड्नेछ ।’

पेपर क्लिप्सको ब्यानरमा बनेको हिमाल न्याैपानेद्वारा निर्देशित यस चलचित्रमा कमल न्यौपाने र विमल न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपाङ्गी मगर, रियर राई, कविता आले, सुवाससिंह ठकुरी, सुमन थापा, रुपेश लामा लगायतको अभिनय रहेको छ ।

‘पूर्णबहादुरको सारङ्गी’मा कर्तव्यनिष्ठ ‘बुबा’को भूमिकामा रहेर इतिहास रच्न सफल विजय बराल यस चलचित्रमा एउटा जिम्मेवार भाइ अनि छोराको रुपमा देखिँदैछन् ।  ‘पूर्णबहादुरको सारङ्गी’पछि मुख्य भूमिकामा उनकाे याे दोस्रो फिल्म हाे । त्यसैले यो चलचित्र आमदर्शकको लागि बहुप्रतिक्षित चलचित्र पनि हो ।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन टिममा मुख्य सहायक निर्देशक दिनेशबहादुर राउतसहित तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन् । नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेम्याटोग्राफी तथा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्म काफिया फिल्म्समार्फत गोविन्द शाहीले वितरण गर्दैछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link