Home Main Highlight News ‘माइतीघर’को नृत्य प्रतियोगितामा अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार

‘माइतीघर’को नृत्य प्रतियोगितामा अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपाली चलचित्र ‘माइतीघर’ले रिलिज अघि नै दर्शकमाझ लोकप्रिय भएको छ । असोज १३ गते फूलपातीका दिनबाट प्रदर्शनमा आउने यो चलचित्रको शीर्ष गीत सार्वजनिक गर्दै निर्माण टिमले नृत्य प्रतियोगिता घोषणा गरेपछि प्रतियोगितामा दर्शकले उत्साहजनक सहभागिता जनाएका छन् ।

निर्माता रोहित अधिकारीका प्रतियोगिता अनुसार हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएका प्रतियोगीहरुको भिडियोमा लाखौँ भ्यूज आइरहेको छ । उनले दर्शकको यो उत्साहले टिमलाई अझै ऊर्जा थपेको बताएका छन् । शुक्रबार २५ वटा नृत्य प्रतियोगिताको भिडियो रिलिज गरिने उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

प्रतियोगिताको विजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्माण टिमले घोषणा गरेको छ । सुरुवाती घोषणा अनुसार पुरस्कार केवल प्रथम हुनेलाई मात्र थियो, तर निर्माण पक्षले अब दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कार दिने निर्णय गरेको छ । कति भन्ने कुरा चाहिँ खुलाइएको छैन । साथै सहभागीहरुलाई खाली हात नपार्ने प्रतिबद्धता समेत निर्माण टिमले जनाएको छ ।

सहभागीहरुले गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको खण्डमा नृत्य गरेर भिडियो पठाउनु पर्नेछ । निर्माण पक्षका अनुसार प्रतियोगिताको नतिजा असोज १२ गते सार्वजनिक गरिनेछ ।

सञ्जिवनीको स्वरमा सार्वजनिक भएको गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा तयार गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवादमा बनेको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link