बिर्तामोड । अनुभवी निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
ट्रेलरमा ग्रामीण जीवन, सम्बन्धको भावनात्मक उतारचढाव र पहाडमा रहेको पानीको समस्यालाई केन्द्रमा राखिएको देखिन्छ ।
फिल्म नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गते देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । विशेषगरी पहाडी भेगका मानिसको संघर्ष, बसाइँसराइ, विदेश बाध्यता, परिवारभित्रको सम्बन्ध र समयसँगै बदलिँदै गएको सामाजिक यथार्थलाई फिल्मले समेट्ने प्रयास गरेको ट्रेलरबाट झल्किन्छ ।
‘दर्पणछायाँ’, ‘बलिदान’, ‘चिनो’ जस्ता लोकप्रिय चलचित्र निर्देशन गरेका उनले सधैँ मानवीय कथा र सामाजिक विषयलाई केन्द्रमा राख्दै आएका छन् ।
‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहना केसीको अभिनय छ ।
पटकथा लेखन पनि निर्देशक घिमिरेकै छ । फिल्मका निर्माता रिम्पोछे थिङ, सुरेन्द्र थिङ, ओजस्वी केसी, उमा गिरी हुन् । बलिउड निर्देशक प्रमोद प्रधानले यसको छायांकन गरेका हुन् । फिल्ममा रञ्जित गजमेरको संगीत सुन्न पाइने भएको छ । ब्यांकटेस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरनेसनलले यसको वितरण गर्दैछन् । भाग्यरत्न फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।
