झापा । ‘पत्यारिला निर्माता’को छवि बनाएका सुशील पोखरेल करिब सात वर्षपछि नयाँ फिल्म ‘परालको आगो’ लिएर फर्किएका छन् ।
यसअघि ‘यात्रा’ निर्माण गरेका उनले यस प्रोजेक्टमार्फत सशक्त पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘परालको आगो’को सार्वजनिक गीत र पोस्टरले दर्शकमाझ राम्रो चर्चा बटुलेको छ भने अभिनेत्री सुहाना थापाको अभिनयको प्रशंसा भइरहेको छ ।
पोखरेलले पहिले झरना थापा सँग काम गरेका थिए भने अहिले उनकी छोरी सुहाना थापा सँग सहकार्य गरेका छन् । उनले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’ लगायत सफल फिल्म दिएका छन् ।
लक्ष्मण सुनार निर्देशित फिल्ममा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा छन् । फिल्म गुरुप्रसाद मैनालीको लोकप्रिय कथा ‘परालको आगो’मा आधारित रहेको छ । हरि ॐ सिने मेकर्सको ब्यानरमा बनेको फिल्मको संगीत र कथा पक्ष पनि बलियो मानिएको छ ।
श्रीमानश्रीमतीको सम्बन्धको बारेमा रहेको यो फिल्म वैशाख ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
