बिर्तामाेड । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको छ । आउँदो जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको रोमान्टिक नम्बर सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठकै रहेको छ । गीतमा संगीत अनुप तिवारीको रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । उहाँले गीत रमणीय लोकेसनमा छायांकन गरिएको र निर्देशक रन्धिर श्रेष्ठ कुशल प्राविधिक भएकाले चलचित्र उत्कृष्ट बनेको तथा दर्शकलाई मनपर्ने बताउनुभयो ।
निर्देशक रणधीर श्रेष्ठले चलचित्र टेक्निकल रूपमा राम्रो बनेको र एक्सनमा केही नयाँ प्रयोग गरिएको जिकिर गर्नुभयो । साउथ इण्डियन चलचित्र ‘कान्तारा’मा काम गरेका द्वन्द्व कलाकारहरूलाई काम गरेको उहाँले बताउनुभयो । नवनायक अशोक आर्यनले आफ्नो पहिलो चलचित्र भए पनि आफूले सक्दो मिहिनेत गरेको बताउनुभयो । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस चलचित्रमार्फत एक्सन-लभ स्टोरी प्रस्तुत गर्नुभएको छ ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।
चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ । चलचित्रको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय छ ।
चलचित्रको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गर्नुभएको हो । द्वन्द्व निर्देशन सञ्जय थापाले गर्नुभएको छ भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुनुहुन्छ । चलचित्रको गीत आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
