काठमाडौं । तेरिया मगर, सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यू’ को दुई मिनेटको टिजर युट्युबमा रिलिज भएको छ ।
हराउँदै गएको मितेरी साइनोमा बनेको यस फिल्ममा केटीको लागि झगडा भइरहेको दृश्य देख्न सकिन्छ । निर्देशक अनिल बुढा मगरले यस फिल्ममा सामाजिक यथार्थ र सम्बन्धको मर्मस्पर्शी कथा प्रस्तुत गरेको बुझ्न सकिन्छ ।
मितेरी साइनोको चलन नयाँ पुस्तामा ओझेल पर्दै गएपछि निर्देशकले यो फिल्ममार्फत त्यसको महत्वलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । हात हेराउन ज्योतिषीको घरमा पुगेका दयाहाङ र सौगातलाई परस्त्रीसँग लसपस त भएको छैन ? त्यसले विश्वकर्माको कृपा तपाईमाथी घट्ने देखिन्छ भनेपछि अतालिन्छन् । यसैको सेरोफेरोमा टिजर घुमेको छ ।
फिल्ममा शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगरको अभिनय रहेको छ ।
भारतीय डान्सिङ रियालिटी शोहरूबाट उदाएकी तेरियाको नेपालमा यो डेब्यू फिल्म हो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्तीमगरले निर्माण गरेका हुन् ।
