बिर्तामाेड । सेभेनसिज सिनेमाको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘रोल नं. १’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मले बालमनोविज्ञान, पारिवारिक दबाब र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ ।
३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा बाल कलाकार निर्भिक रेग्मीको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखिएको छ । पढाइमा अब्बल बन्न परिवारबाट पर्ने दबाब र आफ्नै चाहनाबीचको द्वन्द्व ट्रेलरको मुख्य विषय बनेको छ ।
अभिनेता मुकुन भुषाल ट्रेलरमा दमाहा बजाएर जीविका चलाउने विपन्न वर्गका बुबाको भूमिकामा देखिएका छन् । उनी आफ्नो छोरालाई पढाइमा सफल बनाउन चाहन्छन्, तर छोराको रुचि पढाइभन्दा अन्यत्र हुन्छ । यही फरक सोचले बुबा–छोराबीचको भावनात्मक टकरावलाई गहिरो बनाएको छ ।
ट्रेलरमा गरिब परिवारले भोग्नुपरेको अभाव, छात्रवृत्तिको विषय र शिक्षाप्रतिको दुई पुस्ताबीचको फरक दृष्टिकोणलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । पुरानो पुस्ता पढ्न नपाएको पीडामा छ भने नयाँ पुस्ता पढाइको चापबाट मुक्त हुन चाहन्छ । ट्रेलरको अन्त्यमा आउने संवाद — “यस्तो बुबा हुनुभन्दा त मरेको नै जाति” — ले फिल्मको कथा गम्भीर र भावनात्मक रहेको संकेत दिन्छ ।
सर्वाधिक चर्चित नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी का अधिकांश टिम सदस्य संलग्न रहेको फिल्म ‘रोल नं. १’मा विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेका छन् । महेश दवाडीको स्क्रिप्ट रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको साउन्ड डिजाइन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ ।
जौन योञ्जन निर्देशित फिल्ममा मुकुन भुषाल र निर्भिक रेग्मीका साथै शुशांक मैनाली, रेनुनाथ योगी, एभोनराज उप्रेती, सुवास प्रसाद गजुरेल, लोकेन्द्र लेखक, सिर्जना अधिकारी, टिका भक्त जिरेल, श्याम सुन्दर धिताल, शंकर आचार्य, लोकमणि सापकोटा, विशाल पहाडी, खड्गबहादुर पुन, सुवास खरेल र सम्रान्त थापालगायत कलाकारहरुको अभिनय रहेको छ । साथै बाल कलाकार संयम कटुवाल, रिन्चेन लामा, सिजल श्रेष्ठ र शिवांगी सिटौलाले पनि फिल्ममा अभिनय गरेका छन् ।



