कुनै समय आफ्नो सशक्त अभिनयबाट दर्शकमाझ गहिरो छाप छाडेकी अभिनेत्री गरिमा पन्त करिब ९ वर्षपछि पुनः फिल्म अभिनयमा फर्किएकी छन् । अभिनेता भुवन केसीकाे निर्देशनमा बनिरहेकाे चलचित्र ‘बाटुलो जून’ मार्फत पुनरागमन गर्न लागेकी हुन् ।
फिल्ममा गरिमाको जोडी अभिनेता भुवन केसी सँग बाँधिएको छ । फिल्मका लागि उनी यसै साता बेल्जियमबाट नेपाल आएकी हुन् । बिहीबारदेखि उनले आफ्नो भागको छायांकन सुरु गरिसकेकी छन् ।
अभिनयमा पुनरागमनबारे संकेत गर्दै गरिमाले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, “केही समयको अन्तरालपछि फेरि क्यामरा, सेट अनि अभिनयसँगको भेट ।”
२०७३ सालमा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेपछि गरिमा फिल्म क्षेत्रबाट टाढिएकी थिइन् । पछिल्लो पटक उनी २०७४ सालमा प्रदर्शन भएको फिल्म “स्काउट” मा देखिएकी थिइन् ।
गरिमाले २०७० सालमा प्रदर्शन भएको चर्चित फिल्म “झोला” बाट राष्ट्रिय अवार्ड जित्नुका साथै सार्क फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरेकी थिइन् ।
अभिनय यात्राका क्रममा उनले ‘निखिल दाई’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘दिदी भाइ’, ‘मनले मनलाई छुन्छ’ र ‘सुन्दर मेरो नाम’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । लामो अन्तरालपछि पुनः पर्दामा फर्किन लागेकी गरिमालाई दर्शकले कस्तो रूपमा ग्रहण गर्नेछन् भन्ने चासो अहिले बढ्दो छ ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेकाे चलचित्र ‘बाटुलो जून’मा तेजबिक्सम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । फिल्ममा छायाङ्कन राजेश श्रेष्ठको रहनेछ भने रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।
फिल्ममा अनमोललाई केसी अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले अभिनयमासाथ दिनेछन् । भुवन केसी आफैं पनि प्रमुख अभिनयमा रहने बाटुलो जूनमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ ।



