Home Main Highlight News पूर्वका दर्शक भेट्दै लालीबजारको टिम, फिल्मको व्यापार ४ करोड २९ लाख नाघ्यो
 

पूर्वका दर्शक भेट्दै लालीबजारको टिम, फिल्मको व्यापार ४ करोड २९ लाख नाघ्यो

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । पूर्वका दर्शक भेट्न चलचित्र ‘लालीबजार’को टिम झापा आइपुगेको छ । मंगलबार झापाको बिर्तामोड र दमकका हलहरुमा पुगेर अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, कार्यकारी निर्माता प्रदीप भट्टराई लगायतको टिमले दर्शकसँग प्रतिक्रिया लिएका छन् ।

बिर्तामोडको क्युएफएक्स सिनेमामा दर्शकको प्रक्रिया लिएपश्चात पत्रकारसँगको संक्षिप्त भेटघाटमा निर्माता भट्टराईले देशभर दर्शकबाट अत्यन्तै माया पाएको बताएका छन् । उनले भने, ‘दर्शक कथामा पुरै डुब्नु भएको छ, यसमा रहेका हरेक पात्रहरुसँग मनैदेखि जोडिनु भएको पायाँै ।’ खासगरी आमाछोरीको कथा दर्शकलाई अत्यन्तै मन परेको उनले बताए । उनले फिल्म रोकिएको समाचार जसरी फैलियो, रिलिज भएको खबर दर्शकसम्म नपुग्दा सुरुवाती दिनमा व्यापार कम भएको बताएका छन् ।

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले आफूले ‘लालीबजार’मा गरेको मधुवालाको क्यारेक्टरलाई दर्शकले अत्यन्तै माया दिनुभएको बताइन् । ‘यो किसिमको एप्रिसिएसन मैले अरु क्यारेक्टर गर्दा पाएको थिइनँ, सम्पूर्ण दर्शकप्रति आभारी छु ।’ बादी समाजलाई बुझ्न आफूहरुले गरेको रिसर्च, त्यहाँको मनोविज्ञान, त्यसले पार्ने प्रभावको बारेमा अगुवाहरुसँग धेरै छलफल भएर फिल्म प्रदर्शनको तीन दिन अघि भोग्नु परेको समस्याप्रति उनले दुखेसो व्यक्त गरिन् ।

निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हालसम्म चलचित्रले ४ करोड २९ लाखभन्दा बढीको व्यापार गरिसकेको बताएका छन् । फिल्ममा आफ्नो सम्वाद अत्यन्तै कम भए पनि दर्शकमाझ गहिरो छाप छोड्न आफूले गरेको पात्र सफल भएकोमा खुशी व्यक्त गरे । उनले ‘लालीबजार पार्ट २ पनि आउँछ’ भन्ने सवालमा भने, ‘बादी समुदायभित्र यति धेरै कथा रहेछन्, पाँच वटा फिल्म भित्र पनि त्यो कथा अँटाउन सकिँदैन ।’

‘लालीबजार’को टिमलाई क्युएफक्स सिनेमा हल बिर्तामोडका सञ्चालक मिजास पोखरेलले स्वागत गरेका थिए । यम थापाको निर्देशनमा बनेको यस चलचित्रले बादी समुदायले भोग्नु परेको अत्यन्त दर्दनाक पीडाको कथा भनेको छ । शैक्षिक चेतनाबाटै समाजको हरेक अँध्यारो पक्षलाई चिर्न सकिने सन्देश फिल्मले दिएको छ । फिल्ममा आमाबुबाले छोरीको भविष्यको लागि गरेको संघर्षको कथा र यसको प्रस्तुति शैलीलाई धेरै दर्शकले मन पराएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link