बिर्तामाेड । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् यही जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ भने फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन्।
डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ।
फिल्ममा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ। निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन्। फिल्मको छायाङ्कन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन्। ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ।
निर्देशक राईले ‘शेप अफ मोमो’ आफ्नो व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको बताएकी छन्। “मेरो पहिलो फिल्म आफूले नजिकबाट देखेको संसारबाट आउनुपर्छ भन्ने लाग्थ्यो,” उनले भनेकी छन्।
यो फिल्म ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ। ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ ।



