Home Main Highlight News ‘अञ्जिला’लाई डी सिने अवार्ड, चाम्स बने उत्कृष्ट निर्देशक
 

‘अञ्जिला’लाई डी सिने अवार्ड, चाम्स बने उत्कृष्ट निर्देशक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । १७औं संस्करणमा चलचित्र ‘अञ्जिला’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने सोही चलचित्रका निर्देशक मिलन चाम्स उत्कृष्ट निर्देशकको अवार्डबाट सम्मानित हुनुभएको छ । चलचित्र विकास बोर्डमा सम्पन्न अवार्ड समारोहमा वर्ष–२०८१ मा प्रदर्शन भएका चलचित्रहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो ।

छाँयाछवि क्रियशनद्वारा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैतदेवी सिंहलगायतले विजेताहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । अवार्ड समारोहमा चलचित्र ‘पूर्णबहादुरको सारंगी’का अभिनेता विजय बराल उत्कृष्ट अभिनेता तथा ‘बेहुली फ्रम मेघौली’की अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो ।

यसवर्षको अवार्डमा ‘अञ्जिला’ले उत्कृष्ट चलचित्र र निर्देशकसहित मुख्य विधामा सफलता हात पार्दा ‘पूर्णबहादुरको सारंगी’ र ‘बेहुली फ्रम मेघौली’का कलाकारहरू सम्मानित भए । सहअभिनेतातर्फ ‘कार्साङ’का जितु नेपाल र सहअभिनेत्रीतर्फ ‘तेलभिसा’की ऋचा घिमिरे पुरस्कृत हुनुभयो ।

त्यस्तै, ‘एक्टर टेक वान’का राजबल्लभ कोइरालाले उत्कृष्ट चरित्र अभिनयको अवार्ड प्राप्त गर्नुभयो भने ‘ह्स्व दीर्घ’का चन्द्र पन्त उत्कृष्ट नवनिर्देशक घोषित हुनुभयो । ‘सतिदेवी’का लक्ष्मण सुवेदी उत्कृष्ट लेखक बन्नुभयो ।

प्राविधिक विधातर्फ ‘पीताम्बर’का पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार तथा वन्दे प्रसाद उत्कृष्ट सम्पादक घोषित हुनुभयो संगीततर्फ ‘ज्वाइँ साब’ चलचित्रको गीत ‘कसम बत्तीको’का लागि अर्जुन पोखरेल उत्कृष्ट संगीतकार बन्नुभयो भने ‘खुश्मा’ चलचित्रको गीत ‘रुकुम मैकोट’का लागि सुरेन्द्र रानाले उत्कृष्ट गीतकारको अवार्ड हात पार्नुभयो ।

गायनतर्फ चलचित्र ‘छक्का पञ्जा ५’को चर्चित गीत ‘बिहे भाको छैन’बाट सविन सुवेदी उत्कृष्ट गायक तथा बेनिशा पौडेल उत्कृष्ट गायिका घोषित हुनुभयो । नृत्य निर्देशनतर्फ ‘दुखी आत्मा’ चलचित्रको गीत ‘जुनीजुनी भरिलाई’का लागि रामजी लामिछाने र द्वन्द्व निर्देशनतर्फ ‘एक्टर टेक वान’का अष्ट महर्जन पुरस्कृत हुनुभयो ।

अवार्ड समारोहमा ‘चलचित्रकर्मी रजत सम्मान-२०८३’ बाट वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै, रेखा फिल्म्स छाँयाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का सम्मानित हुनुभयो ।

कार्यक्रममा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल तथा गायिका मिना नेपालीलगायत विभिन्न व्यक्तित्वलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । पत्रकार नुमाकान्त पौडेल, निर्देशक अमर वली र निर्देशक कमल एक्चै मगर सम्मिलित निर्णायक मण्डलले अवार्ड विजेताको छनोट गरेको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी दिनुभयो ।
Source : ehimalayatimes.com/2026/06/454526/

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link