बिर्तामोड । अमृत स्टोरको प्रस्तुतिमा सञ्चालन हुँदै आएको ‘झापा रक स्टार’को तेस्रो संस्करणमा ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ हुने भएको छ । यस प्रतियोगिताका लागि सात ब्यान्डहरु फिजिकल अडिसनका लागि छनोट भइसकेका छन् ।
बिहीबार बिर्तामोडमा पत्रकार भेटघाट आयोजना गरी आयोजक अमृत स्टोरका अध्यक्ष अमृत पौडेलले पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ ब्यान्डहरुमध्येबाट उत्कृष्ट सात ब्यान्डहरु फिजिकल अडिसनका लागि छनोट भएको जानकारी गराएका छन् । उनका अनुसार छनोट भएका ब्यान्डहरुमा बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री र आवाज ब्यान्ड रहेका छन् ।
कार्यक्रममा इभेन्ट डिरेक्टर सुनिता तामाङले पूर्वी नेपालमा उदाउँदा ब्यान्ड तथा संगीतकर्मीहरुलाई उत्कृष्ट मञ्च प्रदान गर्ने उद्देश्यले ‘झापा रकस्टार’ सुरु गरिएको बताइन् । एनएसएस इभेन्टको व्यवस्थापनमा सञ्चालन हुँदै आएको यस प्रतिस्पर्धात्मक कार्यक्रमबाट नवप्रतिभाहरुलाई उत्साह मिल्ने र अवसर सिर्जना हुने उनको धारणा रहेको छ । प्रतिस्पर्धामा कुनै भोटिङ प्रणालीको व्यवस्था नभएको उनले प्रस्ट पारिन् ।
असार १५ गते बिर्तामोडमा आयोजना हुने फिजिकल अडिसनबाट उत्कृष्ट पाँच छानिने र ग्रान्डफिनाले मार्फत् विजेता घोषणा गरिने कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले जानकारी दिए । ग्रान्ड फिनालेका विजेताले ५० हजार रुपैयाँ नगदसहित म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्नेछन् । विजेताहरुले विभिन्न ब्रान्डका गितार साथै पोर्टफोलियो सुटको अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि गत वैशाख ५ देखि जेठ १० गतेसम्म डिजिटल अडिसनका लागि आवेदन खुला गरिएको थियो । यसअघि २०८१ मा झापा रकस्टारको पहिलो संस्करणमा ‘खुल्ला ब्यान्ड ब्याटल’ र दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सञ्चालन गरिएको थियो ।

