झापा । शुक्रबारदेखि नेपाली चलचित्र ‘आइएम जितबहादुर’सहित ३ विदेशी फिल्म प्रदर्शनमा आउने भएका छन् ।
जितु नेपालको ‘आइएम जितबहादुर’, शाहिद कपुरको ‘ककटेल २’, दक्षिण कोरियाको ‘कोलोनी’, हलिउडको ‘टोय स्टोरी ५’ रिलिज हुँदैछन् । यी सबै फिल्मको एड्भान्स टिकट बिक्री भने न्यून देखिएको छ ।
‘आइएम जितबहादुर’ ले देशभर ११५ शोज पाएको छ । शुभेन्दु घोष निर्देशित यो फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशझखनालको अभिनय छ । कलाकारले गर्नुपर्ने संघर्षको कथा यसमा रहेको छ । १३३ मिनेट रनटाइमको यो फिल्मलाई जनरा ड्रामामा राखिएको छ ।
‘कोलोनी’ दक्षिण कोरियाली सबटाइटलसहितको फिल्म हो जुन जैविक संकट र मानव अस्तित्वको संघर्षमा आधारित ड्रामा, हरर र क्राइम विधाको कथा हो । फिल्ममा बाँच्नका लागि संघर्ष, रहस्य र आतंकको कथा देख्न सकिनेछ । योन साङ-हो निर्देशित यस फिल्ममा जुन जी-ह्युन, कु क्यो-ह्वान र जी चाङ-वुक मुख्य भूमिकामा छन् ।
‘ककटेल २’ आधुनिक सम्बन्ध, प्रेम र भावनात्मक उतारचढावको कथामा आधारित कमेडी, ड्रामा र रोमान्स विधाको हिन्दी फिल्म हो । प्रेम, मित्रता, विश्वास र सम्बन्धमा आउने विछोडका भावनात्मक पाटालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आजको पुस्ताका सम्बन्धको जटिलता उजागर गर्ने अपेक्षा गरिएको छ । होमी अडजानिया निर्देशित यस फिल्ममा शाहिद कपूर, कृति स्यानोन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् ।
‘ट्वाइ स्टोरी ५’ हलिउड फिल्म हो जुन साहसिक कथामा आधारित लोकप्रिय ट्वाइ स्टोरी शृंखलाको नयाँ संस्करण हो । यसपटक वुडी, बज लाइटइयर, जेसी र उनका साथीहरूको संसारमा नयाँ चुनौती थपिएको छ । म्याकेना ह्यारिस र एन्डर््यु स्ट्यान्टन निर्देशित यस फिल्ममा टम ह्याङ्क्स, किआनु रिभ्स र जोन क्युस्याकले आवाज दिएका छन् ।

