काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक भएको छ ।
गीतका शब्द चलचित्रका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ । चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरले गीतलाई थप प्रभावशाली बनाएको छ ।
गीतमा दु:खको समयमा सन्तानले आफ्ना बुवाप्रति महसुस गर्ने पीडा, माया र संवेदनालाई भावुक ढंगले प्रस्तुत गरिएको छ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीक ले गरेका हुन् । चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्देशक ओम प्रतीक स्वयं पनि चलचित्रको प्रमुख भूमिकामा देखिएका छन् ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मा, प्रियंका कार्की, दिलिप रायमाझी, किरण केसी लगायतका चर्चित कलाकारहरूको विशेष अभिनय रहेको थियो, जसले दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरेको थियो ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्स को सहकार्यमा निर्माण भएको ‘हली’ सामाजिक तथा परिवर्तनमुखी कथावस्तुमा आधारित चलचित्र हो । निर्माण पक्षका अनुसार चलचित्रले देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा दृढ संकल्प भएको ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्छ ।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न पाइनेछ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राई को छायांकन रहेको चलचित्रलाई रामप्रसाद चौधरी र विपिन मल्ल ले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जन ले गरेका हुन्। नेसनल सिने ग्रुपले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

