काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहबीच चलचित्र सार्वजनिक गरिएको हो।
घोषणा कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक टोली तथा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र सफलताको शुभकामना व्यक्त गरेका थिए।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा निर्माता सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य परियोजनाहरू पनि यस चलचित्रपछि क्रमिक रूपमा निर्माण प्रक्रियामा लैजाने योजना रहेको जानकारी दिए।

चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। कार्यकारी निर्माताको भूमिकामा निरज नेपाल रहेका छन्। त्यसैगरी, शमशेर लामाले मेकअप तथा जीवन पोखरेलले भेषभूषाको जिम्मेवारी निर्वाह गर्नेछन्।
चलचित्रमा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई नयाँ शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको निर्देशक अमरदीप सापकोटाले बताए। चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको निर्माण पक्षले जनाएको छ।

