झापा । आगामी साउन २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालको नृत्य र अभिनय देख्न सकिन्छ । गीत मुभिज डिजिटेन्मेन्ट र श्रीकृष्ण निरौलाको अफिसियल युट्युब च्यानलमा कोलाब्रेसन गरेर रिलिज गरिएको छ । गीतमा मायाप्रेमको झल्को देख्न सकिन्छ ।
आहा फिल्मस्को ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका हुन् ।
सौरभ ओली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका हुन् भने दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमाका हरि प्रसाद सिवाकोटी लाइन प्रोड्युसर हुन् । क्यानडामा बसोबास गर्ने उनी नेपालमै प्रदर्शन हुने मितिमा ‘लज्जावती’लाई क्यानडामा पनि प्रदर्शन गर्ने तयारीमा जुटेका छन्।
सिनेमामा धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा र काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ।

