झापा । चलचित्र गौँथलीको कलाकार तथा निर्माण टिमले पूर्वका दर्शकसँग खुशी साटिरहेका छन् । मंगलबार झापा आइपुगेको टिमले पूर्वका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको छ ।
मंगलबार बिर्तामोडको क्युएफएक्स सिनेमा र पाथिभरा सिनेप्लाजाका दर्शकहरुलाई भेटेर टिमले धन्यवाद व्यक्त गर्दै खुशी साटासाट गरेको हो । चलचित्रमा ठूलेको भूमिकामा रहेका अभिनेता अर्पण क्षेत्री र गौँथली बनेकी अभिनेत्री सिमरन खड्कालाई झापाली दर्शकले अत्यन्तै माया दिएका छन् ।
यसअघि चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको समन्वयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । जसमा कलाकार अर्पण क्षेत्रीले आफ्नो भूमिकाबारे बताउँदै चलचित्रमा मानवीय भावना रहेको बताए । ‘अटिजमको समस्या भोगिरहेको ठूले र छोरीचेलीमा विभिन्न कारणबाट दबिएर रहेकी गौँथली पात्रको भावनालाई दर्शकले मनपराइदिनु भएको छ’, उनले भने, ‘यसमा हामी कलाकारको भन्दा पनि त्यो पात्र लेख्ने लेखक, निर्देशकको भिजनको ठूलो भूमिका छ, उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ ।’
त्यस्तै, अभिनेत्री सिमरन खड्काले ‘गौँथली’ निर्माण टिम अत्यन्तै राम्रो भएकोले सिनेमा राम्रो बनेको बताइन् । सिनेमाटोग्राफर हरि लम्साललाई सम्झँदै उनले भनिन्, ‘उहा“ले फिल्म खिच्नु भएन, हामीलाई क्यारेक्टरको इमोसन र मुड अनुसार सजिलो पारिदिने काम समेत गर्नुहुन्थ्यो ।’
मुख्य सहायक निर्देशक गिरीराज घिमिरेले यस चलचित्रले आज पनि छोरीचेलीहरुको भावना कुनै न कुनै रुपमा दबिने गरेको र त्यो कथालाई दर्शकले आफ्नै ठानिदिएकाले चलचित्रले माया पाइरहेको बताएका छन् । त्यस्तै, फिल्मकर्मी शिव उप्रेतीले गौँथलीले अमेरिकाको ५६ वटा सहरमा हजारभन्दा बढी शो पाएकोमा खुशी व्यक्त गरे ।
चलचित्र पत्रकार संघ झापाका सचिव सुरज प्रधानले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिता तामाङले स्वागत गरेकी थिइन् । कार्यक्रममा संघका कोशी उपाध्यक्ष रमेश तिवारी, झापा अध्यक्ष एकराज प्रधान लगायत झापाका पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो ।



