काठमाडौं । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ज्युरी अवार्ड जितेर नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याएको चलचित्र ‘तिनीहरु : Elephants in the Fog’ को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले परम्परागत ट्रेलरभन्दा फरक शैली अपनाउँदै चलचित्रको म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो।

सामान्यतया ट्रेलरमा संवाद, दृश्य र कथाको झलकलाई प्राथमिकता दिइने भए पनि यसपटक सार्वजनिक गरिएको म्युजिकल ट्रेलरमा चलचित्रका भावनात्मक दृश्यसँगै ‘बलाम’ बोलको गीतलाई केन्द्रमा राखिएको छ। दर्शकलाई चलचित्रको परिवेश, भाव र प्रस्तुति संगीतमार्फत अनुभव गराउने प्रयास गरेको ट्रेलरमा देखिन्छ। नेपालमा म्युजिकल ट्रेलरको प्रयोग नयाँ मान्न सकिन्छ ।
ट्रेलरमा सिनेमाका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ । हात्तीले दिने दुःख र त्यसको त्रासमा बाँचिरहेको सिंगो गाउँ ट्रेलरमा देखाइएको छ ।
प्रहरीसँग छोरी अप्सरालाई खोजी गरिदिन गरेको आग्रह, आफन्तले नै गरेको शंका र उनको खोजीका लागि आमाले गरेको संघर्ष म्युजिकल ट्रेलरमा देखाइएको छ । क्याची बिटमा म्युजिकल ट्रेलरमा रहेको गीतमा तेस्रोलिंगी समुदाका व्यक्ति नाचिरहेको दृश्य देखिन्छ । भोजपुरी लयको छेउमा रहेर कम्पोज गरेको गीत र त्यसको तालले म्युजिकल ट्रेरललाई आकर्षक देखाएको छ ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा पुष्पा थिङ लामा, साहबदिन मियाँ, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, जोएल गुरुङ, उमिशा पाण्डे, आकांक्षा कार्की, महिमा नवबाघ, सञ्जय गुप्ता दुरा, आशान्त शर्मा, अनिल कुर्मी, माओत्से गुरुङ तथा गौरी मल्ललगायत कलाकारलाई देख्न सकिन्छ।
अभिनाश विक्रम शाहको निर्देशन रहेको चलचित्रको कथा तथा पटकथा पनि उनैले तयार पारेका हुन्। संवाद सन्दीप बादलकाे रहेको छ।
ट्रेलरमा समावेश गरिएको ‘बलाम’ गीतमा रणजेन झाको संगीत निर्माण, लव कर्णको शब्द तथा शिवानी भगत र देव अहिररावको स्वर रहेको छ। ट्रेलर सम्पादन निमेष श्रेष्ठले गरेका हुन्।
चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो । यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र साेहम ढकाल रहेका छन् ।
चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।
अन्डरग्राउन्ड टकिज नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूको सहकार्यमा बनेको चलचित्र नेपालमा टी फोल्क्स फिल्म्स ले वितरण गर्दैछ भने मल्टिप्लेक्स पार्टनर क्यूएफएक्स रहेको छ।
‘एलिफेन्ट्स इन द फग’ले ट्रान्स समुदायको स्वीकार र संघर्षलाई आमा-छोरी सम्बन्धमार्फत देखाएको छ। यस फिल्ममा निर्देशक अविनाशविक्रम शाहले किन्नर समुदायको जीवनशैली, विरोधाभास र आध्यात्मिक शक्तिलाई कलात्मक रूपमा पुनःस्थापना गर्ने प्रयास गरेका छन्। आफ्नो लघु चलचित्र ‘लोरी’बाट यसभन्दा अघिनै कान्समा पुरस्कार जितेका अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकार पनि हुन् ।
‘तिनीहरु : Elephants in the Fog’ आगामी भदौ १९ गते कृष्णजन्माष्टमीको अवसर पारेर नेपालभर प्रदर्शनमा आउनेछ। कान्समा ऐतिहासिक सफलता हासिल गरेपछि नेपाली दर्शकमाझ यसको प्रदर्शनलाई विशेष चासोका साथ हेरिएको छ।

