Home Main Highlight News विराटनगरबाट ‘साम्राज्य’को छायांकन सुरु
   

विराटनगरबाट ‘साम्राज्य’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्देशक सौरभ चौधरीको चलचित्र  ‘द राइज अफ साम्राज्य’ को छायांकन पूर्वकाे विराटनगरबाट सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।

एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको चलचित्रको छायांकनका लागि ७० दिनको सेड्युल तय गरिएको छ । चलचित्रको अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा छन् । निर्देशक चौधरीका अनुसार सौगात मल्लले चलचित्रमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्दै २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा प्रस्तुत गर्नेछन् ।

यस चलचित्रमार्फत निर्देशक चौधरीले पहिलोपटक दयाहाङ राईसँग सहकार्य गरेका छन् । दयाहाङलाई दर्शकले फरक चरित्रमा देख्न पाउने निर्देशकको भनाइ छ । सौगात र विजयसँग उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’मा काम गरेका थिए भने सुशील श्रेष्ठसँग ‘लभ डायरीज’पछि करिब ६ वर्षपछि पुनः सहकार्य गरेका हुन् ।

अमरप्रताप श्रेष्ठले भने यही चलचित्रका लागि निर्देशकको निगरानीमा करिब साढे दुई वर्षदेखि प्रशिक्षण लिएका छन् ।

चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने निर्माण पक्षको दाबी छ । प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link