काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा पुगेसँगै चलचित्रको तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ ।
एक्सनप्रधान टिजरबाट चर्चा बटुलेको चलचित्रले गीतमार्फत आफ्नो अर्को पक्ष पनि विस्तारै खुलाउँदै लगेको छ । बुधबार सार्वजनिक भएको ‘रेशमी रुमाल’ गीतमा विराज भट्ट र वर्षा इटानीको जोडी देख्न सकिन्छ । ‘१२ गाउँ २’को अघिल्ला सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गीतमा देखिन्छ । चलचित्रलाई एक्सनको आवरणमा प्रस्तुत गरिए पनि यसको कथामा प्रेम र सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत गीतहरूले दिइरहेका छन् ।
यसअघि सार्वजनिक भएको ‘जुनेली’ले सुरुवातमा समीर भट्ट र कृशु साहीको जोडीलाई दर्शकमाझ चिनायो भने ‘लालीगुराँस’ले उनीहरूको प्रेमलाई थप नजिक ल्याएको दर्शकमा महसुस गराएको छ ।
‘१२ गाउँ २’को सबैभन्दा ठूलो आकर्षण भने यसको एक्सन नै हो । फिल्मको टिजर सार्वजनिक हुँदा निर्माण पक्षले एक्सन, द्वन्द्व र बदलाको कथालाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको थियो ।
चलचित्रमा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
दशैंको अवसरमा असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’मा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।


