काठमाडौँ । बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपाइरी डेट हुँदैन’ सार्वजनिक भएको छ । सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको यस गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ ।
गीतको भिडियोमा दिपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको त्रिकोणात्मक सम्बन्ध देख्न सकिन्छ । गीतले प्रेम गर्न कुनै उमेरले छेक्दैन भन्ने भाव झल्काएको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक लामाकै रहेको छ भने पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।
वि.सं. २०७६ सालमा व्यावसायिक रूपमा निकै सफल भएको ‘छ माया छपक्कै’ को यो दोस्रो सिक्वेल हो । चलचित्रमा पारिवारिक तथा सामाजिक विषयवस्तुमा हास्यव्यङ्ग्यको मिश्रण रहेको निर्माण टिमले जनाएको छ ।


