बिर्तामाेड । पुस १० देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मुगलान’ को ट्रेलर रिलिज भएको छ । २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे दर्शाउँछ । नेपाली युवालाई विदेशिन बाध्य पारिएको कथा यसमा छ ।
२०५२ सालपछिको गृहयुद्धको चपेटामा परेका युवा मुगलान छिर्न विवश भएको कथा यसमा छ । मुखियाको ऋण तिर्नको लागि परदेशिन बाध्य भएको पात्रको रोलमा प्रभात पाल देखिएका छन् ।
ऋण निखन्न फर्किएका मुख्य पात्र घर फर्किँदा घरमा उसका बाबुआमा हुँदैनन् । द्वन्द्वको पृष्ठभूमिमा उनीहरू कता बेपत्ता भए । यसको मर्मस्पर्शी कथा पनि यसमा छ ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार पाल र अभिनेत्री स्मारिका ढकाललाई देख्न सकिन्छ । फिल्ममा यी दुई प्रेम जोडीको भूमिकामा छन् । रामचन्द्र अधिकारी, दिनेश डीसी, सविन बाँस्तोलाको पनि अभिनय छ । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा श्री शिवांशु, मोती सुबेदी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ । आशिष ढकालको पटकथा र निर्देशनमा तयार भएको फिल्मको लगानीकर्ता गोमन सिंह हुन् ।



