झापा । नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतका विभिन्न सहरका हलहरुमा ५१ दिनसम्म निरन्तर प्रदर्शन सफल पार्दै ५१औँ दिन मनाएकाे हाे ।
जसमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्।
नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गरेको फिल्मले भारतमा पनि सशक्त उपस्थिति जनाएको भन्न सकिन्छ। आर्टमान्डु नेपाल प्रा.लि.ले निर्माण गरेको फिल्मको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो। प्रारम्भिक शोहरूबाट फिल्म हाउसफुल चलेको थियो।
पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो। केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले बताएका छन्।पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानले बताए। ५१ दिनको सफलतापछि उनले भनेका छन्, ‘नोभेम्बर २१ बाट सुरु भएको यात्राले पहिला हिमाल छोयो, त्यसपछि पूर्व, दक्षिण, पश्चिम र उत्तर भारतसम्म फैलियो। भाषा फरक थियो, तर अनुभूति एउटै रह्यो।’
फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल लगायत कलाकारको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूहले प्रदर्शन गरेका हुन्। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए ।
निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि.ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली फिल्मलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ।
