बिर्तामोड । फागुन १ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश’मा भारती प्रसिद्ध गायक कैलाश खेरको स्वर सुन्न पाइने भएको छ । ‘शिव ताण्डव’ गीतमा उनको आवाज रहेको निर्माण पक्षले खुलासा गरेको छ ।
निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको हो । पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा देखिएका छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने, बिमला लिम्बू केही मिश्रित भावमा छन् भने विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ ।
डिस्याचुरेटेड कलर रहेको पोस्टरमा चक्र र आगोको रङ दिइएको छ । जसले चलचित्रका पात्रहरू तनावमा रहेको बुझ्न सकिन्छ ।
महाशिवरात्रिको अवसर पारेर फागुन १ गते रिलिज हुने ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् । “नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुभएको छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,” खेरले भनेका छन् ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् ।
चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
निर्माता अञ्जान केसीको कथामा स्क्रिनप्ले बारत लिम्बूको रहेको छ ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर यस फिल्ममा सुन्न पाइनेछ ।
चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्रकोे वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।
