बिर्तामोड । शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली फिल्म रिलिज हुँदैछन् – चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ र बलिराम चौहान निर्देशित ‘द ब्लु लाइट’ । चलचित्र ‘आबाट आमा’ले १५३ वटा शोज पाइरहँदा ‘द ब्लु लाइट’ले भने ७२ शोज पाएको देखिन्छ ।
यस हिसाबमा हेर्दा स्टार कास्ट, हाइपका कारण ‘आबाट आमा’ले दुई गुणाभन्दा बढी शो पाएको छ भने ‘द ब्लु लाइट’ले आफूलाई प्रमाणित गर्नुपर्ने देखिन्छ ।
‘आबाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावतको शीर्ष भूमिका रहेको छ । साथै, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट लगायत कलाकारको अभिनय यस फिल्ममा रहेको छ । ट्रेलरबाट थाहा हुन्छ, यस फिल्ममा फेमिली ड्रामा हेर्न पाइनेछ । फिल्मको रनटाइम १६० मिनेट रहेको छ । जसलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ ।
त्यस्तै, ‘द ब्लु लाइट’ मा बेनिसा हमाललाई मुख्य भूमिकामा देख्न पाइनेछ । फिल्म साइकोलोजिकल थ्रिलर र ड्रामा रहेको निर्माण पक्षले जनाएको छ । यस फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिस्मा कटुवाल, सहारा शर्मा लगायतको अभियन हेर्न पाइनेछ । यस फिल्मको रनटाइम १०१ मिनेट रहेको छ भने सर्टिफिकेट पीजी छ ।
शुक्रबार नै जोन्स रोबर्ट्स निर्देशित हलिउड फिल्म ‘प्राइमेट’ पनि रिलिज हुँदैछ । जसलाई देशव्यापी ४५ शोज मिलेको छ ।


