बिर्तामाेड । जेठ १५ बाट रिलिज हुन लागेको चलचित्र रोल नं. १ को टाइटल गीत सार्वजनिकसँगै निर्माण पक्षले खुला गायन प्रतिस्पर्धाको घोषणा गरेको छ ।
सेभेन सिज सिनेमाले ‘स्कुल एन्थम’को रुपमा गीत सार्वजनिक गर्दै ‘प्ले ब्याक सिङ्गर’ खुला गायन प्रतिस्पर्धा घोषणा गरेको हो । कुनै पनि उमेर समूहकाले गाउन मिल्ने र प्रतिस्पर्धामा विजयी हुनेको स्वर सिनेमा हलमा गुञ्जिने निर्माता विनोद पौडेलले बताएका छन् । ‘यो केवल फिल्म प्रचार सामग्री मात्रै होइन, गायन क्षेत्रमा उदाउन चाहने नयाँका लागि अवसर पनि हो’, उनी भन्छन्, ‘प्रतिभा भएका जो कोहीले पनि एक्लै वा समूहमा रहेर भिडियो बनाउन सक्नेछन् र गीत गाउँदा आफ्नो छुट्टै मौलिक शैली थप्न पाइने स्वतन्त्रता पनि छ ।’
विजेताको छनोट पारदर्शी रूपमा गर्नका लागि निर्माण टिमले स्पष्ट मापदण्ड तय गरेको छ । जसमा ५०% अङ्क फिल्मका संगीत निर्देशकबाट स्वरको मूल्याङ्कन गरिनेछ भने ३०% अङ्क सिर्जनात्मकताको स्तर र २० प्रतिशत भिडियोमा आएको इन्गेजमेन्टलाई हेरिनेछ ।
सेभेन सिज सिनेमा युट्युबमा सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । जसमा मुकुन भुषाल र निर्भिक रेग्मीलाई बुबा छोराको रुपमा मुख्य भूमिकामा देख्न सकिन्छ । गीतमा दुर्गममा रहेको शिक्षा प्रणाली, ‘रोल नम्बर वान’ हुन गर्नु पर्ने मेहनत र त्यसले बाल मनोविज्ञानमा पारिरहेको प्रभाव देख्न सकिन्छ । गीतमा किताबी ज्ञान मात्रैले जीवन सफल हुन्छ भन्ने प्रश्न गरेको छ । फिल्मले दिन खोजेको सन्देशलाई टाइटल गीतबाट प्रस्ट बुझ्न सकिन्छ ।
जौन योञ्जनको निर्देशन रहेको फिल्मको निर्मातामा विनोद पौडेल र जानवी पौडेल रहेका छन् । सहनिर्मातामा छत्रमाया गिरी पौडेल र रमेश चौलागाईं रहेका छन् । स्क्रिप्टमा महेश दवाडी, छायांकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मदन घिमिरेको काम यस चलचित्रमा हेर्न पाइनेछ ।
खुल्ला गायन प्रतिस्पर्धाको बारेमा थप जानकारीका लागि तल राखिएको फेसबुक लिंकमा क्लिक गर्नुहोला ।
https://www.facebook.com/photo/?fbid=122202703016517586
