Home Main Highlight News ‘लालीबजार’को ‘मै राम्री छु त नी’ बोलको गीत सार्वजनिक, पूरा नृत्य हलमै मात्र हेर्न पाइने
   

‘लालीबजार’को ‘मै राम्री छु त नी’ बोलको गीत सार्वजनिक, पूरा नृत्य हलमै मात्र हेर्न पाइने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’को तेस्रो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रको प्रवर्द्धनलाई तीव्रता दिँदै ‘मै राम्री छु त नी’ बोलको गीत सार्वजनिक गरेको हो । यो चलचित्र आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

सार्वजनिक गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ । दीपिका बयम्बू मगरको स्वर रहेको यस गीतमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकले कोरस भोकलमा साथ दिएका छन् । नारी सुन्दरताको बयान गरिएको यस गीतमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

निर्माण पक्षका अनुसार अहिले सार्वजनिक गरिएको भिडियो गीतको एउटा सानो अंश मात्र हो । गीतको पूर्ण संस्करण (फुल भर्सन) भने चलचित्र प्रदर्शनसँगै हलमै हेर्न पाइने जानकारी दिइएको छ । गीतको भिडियोमा चलचित्रकी मुख्य पात्र स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको छ भने उनीसँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत फिचर्ड छन् ।

चलचित्र ‘लालीबजार’ सामाजिक विषयवस्तुमा आधारित छ । केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले बादी समुदायमा विद्यमान ‘नाथिया’ जस्तो कु-प्रथाको विषयलाई उठाएको छ । निर्देशक थापाका अनुसार यो चलचित्र मुख्य रूपमा आमा र छोरीको भावनात्मक सम्बन्धको कथा हो ।

निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् । फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन् । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । सामाजिक मुद्दा र बलियो कथावस्तु भनिएको ‘लालीबजार’ले दर्शकमाझ कौतुहलता जगाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link