काठमाडौँ । अभिनेत्री रेखा थापाले चलचित्र ‘काउकुती’ निर्माण गर्ने भएकी छन् । उनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेकी हुन् ।
हास्य कथावस्तुमा बन्न लागेको यस फिल्मलाई चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक ऋद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । ‘प्रेमगीत २’ र ‘दर्पण छायाँ २’की अभिनेत्री समेत रहेकी उनले यसअघि फिल्म ‘ककाकिकी’को निर्देशन गरिसकेकी छन् । यस फिल्मबाट ऋद्धाको काम गर्ने शैलीबाट रेखा प्रभावित भएकी थिइन् ।
नवराज श्रेष्ठ र बलराम शाही ठकुरी (रेखाका श्रीमान्) निर्माता रहेको यस फिल्ममा रेखा स्वयंको मुख्य भूमिका रहने जनाइएको छ । अभिनेता बारे खुलाइएको छैन । फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् ।
आगामी असोजमा छायांकनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको एउटा गीत चर्चितर् यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ । उनले यही फिल्मबाट पार्श्व गायनमा डेब्यू गर्न लागेका हुन् ।

