मुम्बइ । नेटफ्लिक्सले आफ्नो बहुप्रतीक्षित फिल्म ‘माँ बेहेन’ को ट्रेलर सार्वजनिक गरेकाे छ । तीव्र गतिमा अघि बढ्ने अपराध–कमेडी शैलीको यो फिल्ममा झुट, शंका र हास्यास्पद घटनाहरूको चक्र देखाइएकाे छ । स्टार कलाकारहरूले भरिएको यो फिल्म आगामी जुन ४ देखि विश्वभर नेटफ्लिक्समार्फत स्ट्रिम गरिने छ ।
फिल्मले एक अविस्मरणीय तर अस्तव्यस्त आमा–छोरीको परिवारको कथा प्रस्तुत गरेकाे छ। कथा त्यतिबेला मोडिन्छ जब उनीहरूलाई आफ्नै अपार्टमेन्टमा भएको एउटा शव लुकाउनुपर्ने अवस्था आउँछ। त्यसैबीच जिज्ञासु छिमेकी, नजिकिँदै गरेको विवाह र परिवारभित्रकै तनावले परिस्थिति झन् जटिल र रमाइलो बन्दै जान्छ।
ट्रेलरमा दर्शकलाई रेखा, जया र सुष्माको उथलपुथलपूर्ण संसारमा प्रवेश गराइएको छ। निर्देशक तथा निर्माता सुरेश त्रिवेणीले भनेका छन्, “हामीले माँ बेहेन मार्फत जरा जोडिएको तर मनोरञ्जनले भरिएको कथा भन्न खोजेका हौं। यो एउटा असंगठित परिवारको कथा हो, जसले एउटा ‘काण्ड’पछि हास्य, अव्यवस्था र अचम्मका परिस्थितिहरूसँग जुध्नुपर्छ।” फिल्मको लेखन सुरेश त्रिवेनी र पुजा ताेलानीले गरेका हुन्।



