Home Main Highlight News क्रिटिक्स फिल्म अवार्ड २०८२ को उत्कृष्ट फिल्म बन्याे ‘ऊनको स्वीटर’
 

क्रिटिक्स फिल्म अवार्ड २०८२ को उत्कृष्ट फिल्म बन्याे ‘ऊनको स्वीटर’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ ।

सन् २०१४ देखि प्रदान गर्दै आएको उक्त अवार्ड नेपाली चलचित्रको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेत प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको समाजको भनाइ छ । समाजले यो अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा निष्पक्षता, पारदर्शिता र व्यावसायिक मूल्यको बलियो मानकका रूपमा स्थापित गर्दै आएको दावी गरेको छ ।

सार्वजनिक नतिजाअनुसार ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक बनेका छन् । उत्कृष्ट पटकथाको अवार्ड पनि नवीन चौहान र सुरज कटुवालले ‘ऊनको स्वीटर’ मार्फत प्राप्त गरेका छन् । यस्तै, उत्कृष्ट पार्श्व संगीततर्फ कोबिद बज्र सम्मानित भएका छन् ।

अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित भएका छन् भने ‘रमिताको पिरती’ की आना शर्मा उत्कृष्ट अभिनेत्री चुनिएकी छन् ।प्राविधिक विधातर्फ ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादनतर्फ सम्मानित भएका छन् ।

क्रिटिक्स फिल्म अवार्ड २०८२ का विजेताहरू

उत्कृष्ट फिल्म: ऊनको स्वीटर
उत्कृष्ट निर्देशक: नवीन चौहान (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेता: हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री: आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथा: नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायाङ्कन: सुशन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)
उत्कृष्ट पार्श्व संगीत: कोबिद बज्र (ऊनको स्वीटर)

समाजले २०८१ र २०८२ सालको अवार्ड संयुक्त रूपमा भव्य समारोहका बीच वितरण गर्ने तयारी भइरहेको जनाएको छ। मूल्याङ्कन प्रक्रिया सम्पन्न भइसकेकाले पारदर्शिता र व्यावसायिक धर्मलाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गरिएको अध्यक्ष सामीप्यराज तिमल्सिनाले जानकारी दिएका छन्।

समाजले छनोटमा पर्न सफल सम्पूर्ण फिल्मकर्मी, प्राविधिक तथा स्रष्टाहरूलाई बधाई दिँदै नेपाली चलचित्रको कलात्मक सौन्दर्य र व्यावसायिक मर्यादा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ। पुरस्कार वितरण समारोहको मिति र स्थानबारे भने छिट्टै विशेष सूचनामार्फत जानकारी गराइने जनाइएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link