Home Main Highlight News अक्षय कुमारको फिल्म ‘वेलकम टु द जंगल’मा हटाइयो केही संवाद र दृश्य
 

अक्षय कुमारको फिल्म ‘वेलकम टु द जंगल’मा हटाइयो केही संवाद र दृश्य

by Parda Sansar
A+A-
Reset

मुम्बई । भारतीय अभिनेता अक्षय कुमारको फिल्म ‘वेलकम टु द जंगल’ ले १८ वटा संशोधन तथा कटौतीपछि प्रदर्शन अनुमति पाएको छ।  जुन २६ (असार १२) देखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई भारतीय केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी)ले संशोधन तथा कटौतीपछि प्रदर्शन अनुमति दिएको हो।

फिल्मलाई ‘यूए १६ प्लस’ सर्टिफिकेट दिइएको छ। यसको अर्थ फिल्म १६ वर्षभन्दा माथिका दर्शकका लागि उपयुक्त मानिएको हो। १६ वर्षभन्दा कम उमेरका बालबालिकाले भने अभिभावकको मार्गदर्शनमा मात्र हेर्नुपर्ने सिफारिस गरिएको छ। फिल्मको रनटाइम २ घण्टा ४४ मिनेट तय गरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार सेन्सर बोर्डले केही संवाद परिवर्तन गर्न तथा केही शब्द र सन्दर्भ हटाउन निर्देशन दिएको छ। त्यसअन्तर्गत कश्मीरसँग सम्बन्धित उल्लेख, ‘गोरखा रेजिमेन्ट’ जस्ता शब्द, केही आपत्तिजनक संवाद तथा सबटाइटलका अभिव्यक्तिहरू संशोधन गरिएका छन्।

त्यस्तै, अभिनेत्री दिशा पटानी र ज्याकलिन फर्नान्डिजका बिकिनी दृश्य, महिलाको शरीरका क्लोजअप शट, गीतका केही कम्मरका हाउभाउ र अशोभनीय मानिएका हातका संकेतहरू पनि हटाइएको वा अन्य दृश्यले प्रतिस्थापन गरिएको बताइएको छ। यी सबै परिवर्तनबाट करिब १० सेकेन्ड दृश्य हटाइएको जनाइएको छ।

‘वेलकम टु द जंगल’ अहमद खानले निर्देशन गरेका हुन्। फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, दिशा पटानी, ज्याकलिन फर्नान्डिज, अर्शद वारसी, ज्याकी श्राफ, परेश रावल, रविना टण्डनलगायत कलाकारहरूको अभिनय छ। निर्मातामा फिरोज ए नाडियादवाला, राकेश दाङ र वेदान्त विकास बाली छन्।

‘वेलकम’ बलिउडको लोकप्रिय कमेडी फिल्म शृंखला हो। यसको पहिलो शृंखला ‘वेलकम’ सन् २००७ मा प्रदर्शन भएको थियो। त्यसपछि दोस्रो शृंखला ‘वेलकम ब्याक’ सन् २०१५ मा रिलिज भएको थियो।

‘वेलकम टु द जंगल’ कमेडी जनरामा आधारित फिल्म हो, जसमा एक्सन र एडभेन्चरका तत्वहरू पनि समेटिएका छन्। नेपालका सिनेमा हलहरूमा पनि ‘वेलकम टु द जंगल’ प्रदर्शनमा आउने तयारीमा छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link