बिर्तामोड । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत तीन चलचित्रको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । जसमा चलचित्र लालीबजार, रोल नं. १ र आईएम जीतबहादुरको बक्स अफिस कलेक्सन सार्वजनिक गरिएको हो ।
सिनेपा बक्स अफिस रिपोर्ट अनुसार प्रदर्शनरत चलचित्रमा यम थापा निर्देशित चलचित्र लालीबजारले असार १४ गतेसम्ममा ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो रकम गत साताभन्दा ३ लाख ६३ हजार १८५ रुपैयाँले बढी हो । तर, अघिल्लो साता यस फिल्मले १२ लाख भन्दा बढी ग्रस कमाइ गरेको थियो ।
त्यस्तै जेठ १५ गतेबाट रिलिज भएको जौन योञ्जन निर्देशित चलचित्र रोल नं. १ ले १ करोड ६८ लाख ९५ हजार ९३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जुन गतसाता भन्दा १३ लाख ४९ हजार २७० रुपैयाँले बढी हो । अघिल्लो साता यस फिल्मले २० लाख ३० हजार रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।
यसरी हेर्दा ५१ दिन मनाइसकेको चलचित्र ‘लालीबजार’को व्यापार घट्दो देखिएको छ भने पाँचौँ हप्तामा प्रवेश गरेको चलचित्र रोल नं. १ ले औसत व्यापार गरिरहेको छ ।
असार ५ गते रिलिज भएको आईएम जीतबहादुरले भने अपेक्षाकृत व्यापार गर्न सकेको छैन । जसले ९ दिनमा केवल ३१ लाख ७ हजार ६९२ रुपैयाँ कलेक्सन गरेको छ ।

