बिर्तामाेड । आगामी साउन २९ गतेबाट देशभरका फिल्म हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ यतिबेला चर्चामा छ । एक साताअघि मात्रै एकसाथ ५ वटा आकर्षक पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारको शुभारम्भ गरेको निर्माण टोलीले भर्खरै मात्र फिल्मको गीतको छायाङ्कन भव्यताका साथ सम्पन्न गरेको छ । चितवनको पर्यटकीय नगरी सौराहा चोकमा ध्वजापताकासहित झकिझकाउ सेट तयार पारेर ‘प्याँपु प्याँपू हरान बजाएर’ बोलको डान्सिङ नम्बरको सुटिङ गरिएको हो ।
२ दिन लगाएर खिचिएको यस गीतमा दर्जन बढी कोरस डान्सरहरूको बिचमा फिल्मका प्रमुख कलाकारहरू मेनुका माझी, श्री कृष्ण निरौला, मुकुन भुषाल र जानुका विश्वकर्माले कम्मर भाँचेका छन् । दर्शकलाई छमछमी नचाउने लक्ष्य राखिएको यो ऊर्जामयी गीतमा शब्द, सङ्गीत र स्वर तीनवटै पक्ष लोकप्रिय सङ्गीतकार बाबुल गिरीले सम्हालेका छन् । यता भिडियोको कोरियोग्राफी भने कविराज गहतराजले गरेका छन् । म्युजिक भिडियोको सफल मोडलिङ यात्राबाट फिल्ममा मुख्य अभिनेत्रीको रूपमा छलाङ मार्ने तयारीमा रहेकी मेनुका माझी यस फिल्मलाई लिएर निकै उत्साहित छिन् । गीतको भिडियो निकै उत्कृष्ट बनेको बताउँदै उनले भनिन्, ‘हामीले यसमा निकै मेहनत गरेका छौँ । मलाई विश्वास छ, यो गीतले फिल्मको हाइपलाई अझै उचाइमा पुर्याउनेछ ।
‘ उनले आफ्नो मोडलिङ करियरबाट फिल्म क्षेत्रमा प्रवेश गर्दा सबैभन्दा बढी आशा र भरोसा नै ‘लज्जावती’बाट रहेको स्पष्ट पारिन् । ‘लज्जावती’ नाम सुन्दा सामान्य प्रेमकथा जस्तो लागे पनि यसले समाजका गहिरा पाटाहरूलाई समेटेको निर्माण पक्षको दाबी छ । निर्माण टिमका अनुसार यो फिल्म विशुद्ध प्रेमकथामा मात्र सीमित नभई, यसले हाम्रो समाजका विविध आयाम र मानवीय सम्बन्धका जटिलताहरूलाई गहिरोसँग खोतल्ने प्रयास गरेको छ । आहा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मको मुख्य कलाकारहरूमा मेनुका माझी, श्री कृष्ण निरौला, मुकुन भुसाल, जानुका विश्वकर्मा, धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठ रहेका छन् ।
प्रस्तुतकर्ता सौरभ वली रहेको लज्जावतीको निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया रहेका छन् भने कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् । यसको छायाङ्कन दिव्यराज सुवेदी, सम्पादन तारा थापा ‘किम्भे’ र द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् । कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरणको जिम्मा लिएको ‘लज्जावती’ले साउन २९ गतेबाट दर्शकको मन जित्नेमा निर्माण पक्ष पूर्ण विश्वस्त देखिएको छ ।

