काठमाडौं — वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन्। दर्शकमा लामो समयदेखि रहेको ‘हरिवंश’काे भूमिकामा काे हाेला भन्ने उत्सुकता रहेकाे थियाे । यसलाई अन्त्य गर्दै अरुणलाई उक्त भूमिकाका लागि औपचारिक रूपमा अनुबन्ध गरिएकाे छ ।
वास्तविक जीवनमा मदनकृष्ण श्रेष्ठका सहयात्री तथा कलाकारिता साझेदार रहेका हरिवंश आचार्यकाे रुपमा अब पर्दामा अरुण क्षेत्री देखिनेछन् । हाल प्रदर्शनरत ब्लकबस्टर चलचित्र ‘गौँथली’ का प्रमुख अभिनेता अरुणले यही टोलीले निर्माण गर्ने हरिवंश आचार्यको छुट्टै बायोपिकका लागि पनि एकैपटक सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्सका अनुसार, हरिवंशको चरित्रलाई न्याय गर्न सक्ने सक्षम कलाकारको खोजीका क्रममा अरुण क्षेत्री छनोटमा परेका हुन्।
हामीले ‘म मदनकृष्ण’मा हरिवंश दाइको भूमिकाका लागि अरुणलाई अनुबन्ध गरेका छौँ। साथै, भविष्यमा निर्माण हुने हरिवंश आचार्यको बायोपिकमा पनि उहाँले नै मुख्य भूमिका निर्वाह गर्नुहुनेछ। उहाँको अभिनय क्षमताले यो भूमिकालाई पूर्ण न्याय गर्नेमा हामी विश्वस्त छौँ,” – निर्देशक चाम्स ।
केही दिनअघि मात्रै घोषणा गरिएको ‘म मदनकृष्ण’ ले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारिताको शिखरसम्मको यात्रा, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह तथा व्यक्तिगत जीवनका संघर्ष र सफलतालाई समेट्नेछ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा केकी अधिकारी रहनेछिन्।
यसका अतिरिक्त चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् भने निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए।
यसैबीच, चलचित्र ‘म मदनकृष्ण’ को डिजिटल अधिकार नेपालको प्रतिष्ठित डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरेको निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन आगामी भदौको दोस्रो सातादेखि सुरु हुने तयारी छ।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन्।


