इटहरी । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’को दोस्रो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार युट्युबमार्फत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको मर्मस्पर्शी गीत दर्शकमाझ ल्याएको हो ।
गीतमा थानेश्वर गौतमको स्वर रहेको छ भने शब्द भीम कुमार ओझाको रहेको छ । सन्तोष बिसीको संगीत तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।
गीतले चलचित्रका मुख्य पात्र मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम, विछोड र त्यसपछिको भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । प्रेमिकाको वियोगपछि मानसिक रूपमा विचलित बनेका प्रेमीको भूमिकामा श्रीकृष्ण निरौलाले प्रभावशाली अभिनय गरेका छन् । साथै, मुकुन भुसाल र जानुका विश्वकर्माले उनलाई खोज्दै हिँडेको दृश्यहरूले कथाको भावनात्मक गहिराइलाई प्रस्ट्याएको छ ।
यसअघि सार्वजनिक भएको गीत ‘दिलको मोटर’ लोकप्रिय बनेको छ । ट्रेलर र पहिलो गीतले दर्शकमाझ चलचित्रप्रति उत्साह बढाएको छ । चलचित्रमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतको अभिनय रहेको छ ।
आहा फिल्म्स प्रालिको प्रस्तुति रहेको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् । चलचित्रलाई कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकायाले निर्माण गरेका छन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ ।


