काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । सौगात मल्ल र दयाहाङ राईपछि नाजिर पनि चलचित्रको मुख्य भूमिकामा जोडिएका हुन् ।
निर्देशक चौधरी र नाजिरबीच यसअघि पनि सहकार्य भइसकेको छ । चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’मा नाजिरले अभिनय गरेका थिए ।
नाजिरलाई चलचित्रमा अनुबन्ध गर्नुको कारण उनको अभिनय क्षमता र विविध भूमिकामा प्रस्तुत हुन सक्ने खुबी रहेको निर्देशक चौधरी बताउँछन्। उनका अनुसार नाजिरलाई सौगात र दयाहाङसँगै चलचित्रका प्रमुख कलाकारका रूपमा देख्न सकिनेछ।
चौधरीले ‘द राइज अफ साम्राज्य’मा अझै केही अब्बल कलाकार जोडिने क्रम जारी रहेको जानकारी दिएका छन् । हाल सार्वजनिक भएको सौगात, दयाहाङ र नाजिरको लाइनअपले चलचित्र मल्टिस्टार बनिसकेकाे छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। निर्देशक चौधरीका अनुसार चलचित्र ‘एपिक एक्सन ड्रामा’का रूपमा निर्माण हुनेछ।
यसपटक ठूलो क्यानभासमा चलचित्र निर्माण गर्ने तयारीमा रहेका चौधरीले ‘द राइज अफ साम्राज्य’लाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने लक्ष्य लिएका छन् ।
चलचित्रको छायांकन यही भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा गरिने बताइएको छ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को-प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन डिरेक्टरमा छन् ।
ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकका रूपमा जोडिएका छन्।


