काठमाडौं । अभिनेत्री श्यामाश्री शेर्पाले नेपाली चलचित्र ‘माइतीघर’बाट उत्कृष्ट नवअभिनेत्रीको अवार्ड हात पारेकी छन् । काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (INFA) २०२६ मा उनले बेस्ट डेब्युट एक्ट्रेस विधामा अवार्ड प्राप्त गरेकी हुन् ।
यस विधामा श्यामाश्री शेर्पासहित ‘आ बाट आमा’की उषा उप्रेती, ‘राम नाम सत्य’की खुशी कार्की, ‘पीआर’की विनिता कार्की र ‘मन विनाको धन’की बिना राउत उत्कृष्ट पाँचको मनोनयनमा परेका थिए ।
श्यामाश्री अभिनयसँगै नृत्य तथा फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनले ताशी नामग्याल एकेडेमी, गान्तोकबाट विद्यालय शिक्षा पूरा गरेपछि कोलकाताको श्री शिक्षायतन कलेजबाट पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययन गरेकी हुन् । त्यसपछि मुम्बईस्थित किशोर नमित कपूर एक्टिङ इन्स्टिच्युटबाट अभिनय तथा प्रस्तुति कलामा थप प्रशिक्षण लिएकी छन् ।
अभिनयको कुनै भौगोलिक सीमा हुँदैन भन्ने मान्यतालाई आफ्नो यात्रामार्फत प्रमाणित गरिरहेकी श्यामाश्रीले सिक्किमदेखि नेपाली चलचित्रसम्म बनाएको यो यात्राले नेपाली सिनेमा र पूर्वोत्तर भारतबीचको कलात्मक सम्बन्धलाई समेत थप बलियो बनाउने देखिन्छ ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले यस्ता अवार्डहरुले संसारभरका नेपाली कलाकारलाई जोड्ने र उत्प्रेरित गर्ने बताउनुभयो ।


